ठूला दल मिलेर सेयर बजार बढ्यो, अनुत्पादक क्षेत्र भनेर लगाएको सीमा राष्ट्र बैंकले हटाओस्: पूर्वअर्थमन्त्री महत



काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले एमाले–काँगेस दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखिएको बताएका छन् । सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताए । पूर्व अर्थमन्त्री महतले अब सेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने जिकिर गरे ।

माग भन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउँदै महतले मौद्रिक नीति नै अर्थतन्त्रमा सहजता सिर्जना गर्ने आधार रहेको चर्चा गरे ।

महतले रिफर्म गर्नसक्ने ठाउँहरुमा रिर्फम मौद्रिक नीतिमा रेर ल्याउनुपर्नेमा जोड दिएका छन् । सेयर बजार,जग्गा कारोबार लगायत क्षेत्रमा कर्जा प्रवाहको लागि सिमा कायम राखेर गरेको माइक्रोम्यानेजमेण्टलाई विचार गर्नु आवश्यक रहेको पनि बताए ।

बैंकको ब्याजदरमा सहजता आएको बताउँदै महतले सेयर बजार र घरजग्गा कारोबारमा रहेका सिमाहरुलाई खुकुलो गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले कर्जामा अनुत्पादन क्षेत्र भनेर लगाएको सीमामा पनि पुनःविचार गर्न आवश्यक रहेको बताए ।


क्लिकमान्डु