७ महिनासम्म चल्ने अम्बानीको विवाह तालिका: १ सय सेफले पकाएका ५ सय परिकार, सर्वाधिक महंगो बिहे



मुकेश अम्बानीका कान्छा छोरा अनन्तको आज शुक्रबार भएको विवाहका लागि इन्गेजमेन्ट, प्रि वेडिङ, रिसेप्सन पार्टी लगायतका विभिन्न समारोह मनाउँदा सात महिनाको समय तालिका पुग्छ । हलिउड स्टारहरुलाई करोडौं डलर पारिश्रिम दिएर बोलाएका अम्बानीले हजारौं गाउँलेहरुलाई भोज खुवाइसकेका छन् ।

एजेन्सी । बिहे गर्न कति दिन लाग्छ ? पूर्वीय संस्कार अनुसार सामान्यता ३ देखि ४ दिन वा बढीमा एक हप्ता अर्थात् ७ दिन । एक दिन इन्गेजमेन्ट, एक दिन मगनी, अर्को दिन भोजभतेर वा रिसेप्सन र त्यसपछि दुरान फर्काउने ।

यी सबै काम एक सातामा सम्पन्न गर्न सकिन्छ । तर पछिल्लो समय व्यस्त दैनिकीका बावजुद विवाह समारोहलाई लम्ब्याउने चलन फेसनकै रुपमा आएको छ । अर्थात् केही दिनमा सकिने विवाह अचेल केही हप्ता वा महिनासम्मै मनाउने चलन छ ।

तर भारतमा एउटा यस्तो विवाह हुँदैछ जुन सम्भवत:सबैभन्दा महंगो र लामो समयसम्म मनाइने छ । त्यो हो एसियाकै धनी तथा फोर्ब्सको बिलिनियर सूचीको ११ औं नम्बरमा नाम रहेका मुकेश अम्बानीका कान्छा छोरा अनन्त र भारतकै ठूलो फर्मास्युटिकल्स टाइकुन विरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टको विवाह हुँदैछ । राधिका आफैं पनि व्यावसायमा सक्रिय रुपमा संलग्न छिन् । यी दुई भारतीय व्यापारिक घरानाका सन्तानको विवाह एक साता, एक महिना हैन, ७ महिनासम्म मनाइँदैछ ।

यो जोडी शुक्रबार औपचारिक रुपमा विवाह बन्धनमा बाँधिदै छ । गत जनवरीमा इन्गेजमेन्ट गरेको यो जोडीले हरेक ६ हप्तामा आफ्नो विवाह समारोह मनाइरहेका छन् ।

ताराहरुले भरिभराउ स्टेजमा इन्गेजमेन्टदेखि जस्टिन बिबर र रिहानासम्मका गिगमा अम्बानी परिवारले दसौं करोड खर्च गरिसकेका छन् । पढौं सात महिनासम्म चल्ने सम्भवत: भारतकै सबैभन्दा महंगो विवाहको तालिका कस्तो छ ? नवजोडीले भारतका विभिन्न स्थानदेखि इटालीका सांस्कृतिक सहरहरुसम्म आफ्नो विवाह सम्बन्धी समारोह गर्दै आएका छन् ।

डिसेम्बर : इन्गेजमेन्ट

डिसेम्बर २९ का दिन भारतको राजस्थानस्थित एक मन्दिरमा अनन्त अम्बानीले परिवार र नजिकका साथीभाइहरुको माझ राधिका मर्चेन्टलाई औपचारिक रुपमा प्रपोज गरेका थिए । यद्यपि दुई व्यापारिक घरानाका अनन्त र राधिकाबीच केही वर्षदेखि नै प्रेम सम्बन्ध रहेको बताइएको थियो ।

जनवरी: इन्गेजमेन्ट पार्टी

जनवरी १८ का दिन राधिका मर्चेन्ट आफ्ना हातखुट्टा महंगा मेहन्दीले सुसज्जित बनाउँदै परम्परागत रुपमा भव्य बनाइएको मेहेन्दी समारोहमा सहभागी भइन् । अर्को दिन यो जोडीले आफ्नो गोल धन इन्गेजमेन्ट पार्टी भव्य रुपमा मनायो । जहाँ बलिउडका चर्चित सेलिब्रिटीहरु सामेल थिए । ऐश्वर्या राय, दीपिका पादुकोण र रणवीर सिंह, शाहरुख खान लगायत बलिउडका स्टार कलाकारहरु उक्त पार्टीमा सहभागी थिए ।

मार्च: प्रि वेडिङ पार्टी

अनन्त र राधिकाको यो प्रि वेडिङ समारोह वास्तविक विवाहको चार महिनाअघि नै भएको थियो । गुजरातको पश्चिमी सहर जमनगरमा यो समारोह मनाइएको थियो । जहाँ १ हजार २ सय निम्तालुहरु आएका थिए । प्रिवेडिङ यति भव्य थियो कि जहाँ बलिउड स्टाइल डान्स, फायरओर्क्स र १ सय जना सेफहरुले तयार पारेको ५ सय थरीका परिकारहरु त्यहाँ उपलब्ध थियो । साथै यो प्रि वेडिङ समारोहमा हलिउड पप स्टार रिहानाले पनि प्रस्तुती दिएकी थिइन । जसलाई अम्बानी परिवारले करिब ७० लाख अमेरिकी डलर पारिश्रमिक दिएको थियो ।

यति मात्रै हेन, प्रि वेडिङ समारोहमा मेटा कम्पनीका मालिक तथा अर्बपति उद्यमी मार्क जुकबर्ग, अर्बपति बिल गेट्स, डोनल्ड ट्रम्पकी छोरी इभाना र उनका पति जेराड कुसनर पनि छोरीलाई लिएर प्रि वेडिङ समारोहमा उपस्थित थिए । तर यो पार्टीभन्दा पहिले नै अम्बानी परिवारले जामनगरको बाहिर ५० हजार गाउँलेहरुलाई डिनर पार्टीको आयोजना गरिदिएको थियो ।

मे: युरोपियन क्रुज पार्टी

गत मे महिनामा अम्बानी परिवारले चार दिनको युरोपियन क्रुज पार्टी आयोजना गरेको थियो । जुन इटालीको पालेमो सहरबाट सुरु भएर क्रुजमा सयर गर्दै रोम सहरमा सम्पन्न गरिएको थियो । तर फोन चलाउन नपाइने कडा नियमका बावजुद क्रुजमा सहभागी एक युवकले खिचेको छोटो भिडियोमा हलिउड पपस्टार पिटबुल र डेभिड गुएट्टा पनि समारोहमा देखिएका थिए ।

यसबीचमा अन्य आकर्षक चिज पनि थिए । कान्समा चटेउ डे लादेखि केटी पेरीको पनि प्रस्तुती थियो । यस्तै इटालीयन रिभेरा र इटालीयन टेनर एन्ड्रिया बोसेलीले पनि पाहुनाहरुका लागि प्रस्तुती दिएका थिए ।

जुलाइ: मास वेडिङ एवं म्युजिकल नाइट

जुलाइ २ मा नवजोडीले मास वेडिङको आयोजना गरे । जसलाई समूह विवाह पनि भनिन्छ । यो समारोह मुम्बइबाट ७० माइल टाढा पालघरमा गरिएको थियो । जहाँ ५० भन्दा धेरै आम वैवाहिक जोडीलाई बोलाइएको थियो । जहाँ सुनका आभुषणदेखि वर्षभरको किराना सामनसम्म उपहारको रुपमा ल्याइएको थियो । केही दिनपछि अनन्तकी आमा निता अम्बानी र बाबु मुकेशलाई आमन्त्रण गर्दै म्युजिक र डान्स आयोजना गरियो । रात्रिकालीन संगीत समारोह निता मुकेश अम्बानी कल्चरल सेन्टरले आयोजना गरेको थियो । जहाँ हलिउड पपस्टार जस्टिब बिबरको गिग प्रस्तुती पनि देखाइएको थियो ।

जुलाइ ८: हल्दी

गत सोमबार नवजोडी हल्दी समारोहमा सहभागी भएका थिए । विशेषगरी भारतको हिन्दु संस्कृतिमा प्रचलित रहेको हल्दी समारोह प्रि वेडिङ समारोहकै रुपमा आयोजना गरिएको थियो । यो समारोहमा परम्परागत रुपमा साथीभाइ र परिवारले नवजोडीका अनुहार, टाउको र शरीरका अंगहरुमा बेसार दलेर आशीर्वाद दिने गर्छन् । नवजोडीले यो समारोहलाई भने गोप्य रुपमा मनाएको देखिएको थियो । यद्यपि केही दिनमा नवजोडीले सुन जडित र पहेँलो पोशाकको पहिरनमा तस्बिर खिचाएको अनलाइन तथा सामाजिक सञ्जालमा व्याप्त भएको थियो । जुन पहिरनको डिजाइन भारतीय प्रसिद्ध डिजाइनर अनामिका खन्ना र सन्दीप खोस्लाले गरेका थिए ।

शुक्रबार: मुख्य विवाह समारोह

शुक्रबार अर्थात् आज असार २८ गते अनन्त अम्बानी र राधिका मर्चेन्टको औपचारिक विवाह समारोह भारतको जियो वर्ल्ड कनेभेन्सन सेन्टरमा हुँदैछ । उक्त स्थानमा १६ हजार मानिस अटाउन सक्ने क्षमता छ । पूरा रेड कार्पेटसहित निम्तालुहरुलाई भारतीय कलचरल ड्रेसकोडको पनि व्यवस्था गरिएको छ । एडेलेदेखि ड्रेक र लाना डेल रे लगायत पनि समारोहमा उपस्थिति हुने खबरले सामाजिक सञ्जाल तताइरहेको छ ।

शनिबार: डिभाइन ब्लेसिङ सेरेमनी (आशीर्वाद दिने कार्यक्रम)

विवाह समारोहको भोलिपल्ट भारतीय हिन्दु संस्कार अनुसार विवाह समारोहको अन्तिम दिनको रुपमा लिइन्छ । शुभ आशीर्वाद अर्थात् डिभाइन ब्लेसिङ सेरेमनीमा नवजोडीलाई निम्तालुहरुले आशीर्वाद दिनेछन् । विशेषगरी परिवारसहित आफन्त र छिमेकीका मान्यजनहरुले नवविवाहित जोडीलाई आशीर्वाद दिनेछन् ।

आइतबार: रिसेप्सन

विवाह सकिएपछिको रिसेप्सन पार्टी त सबैतिर प्रचलित छ । आइतबार अम्बानी जोडीले मंगल उत्सवको नाममा विशाल समारोह गर्ने तालिका छ । जुन समारोहमा विशेषगरी भव्य भोजन र विभिन्न परिकारहरु हुनेछन् । आइतबारको यो समारोह अम्बानी परिवारको २७ तले आवासगृहमा मनाइने बुझिएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अम्बानी परिवारले अनन्तको विवाह समारोहमा करोडौं डलर खर्च गरेका छन् । हलिउड पपस्टार जस्टिन बिबरको गिगका लागि मात्रै अम्बानीले १ करोड अमेरिकी डलर अर्थात् १ अर्ब ३२ लाखभन्दा धेरै नेपाली रुपैयाँ पारिश्रमिक दिने समाचार आएका छन् ।

फोर्ब्सका अनुसार भारतसँगै एसियाकै सर्वाधिक धनी उद्यमी मुकेश अम्बानीको पछिल्लो पटक १२ अर्ब ४० करोड अमेरिकी डलरको कुल सम्पत्ति छ । यससँगै उनी विश्वको सर्वाधिक धनीहरुको फोर्ब्स सूचीमा ११ औं नम्बरमा छन् । उनको कम्पनी रिलायन्सले ऊर्जा, टेलिकम र रिटेल लगायतका उद्योगमा काम गर्दै आएको छ ।


क्लिकमान्डु