यि हुन् बाढी पहिरोले पूर्ण रुपमा अवरुद्ध पारेका देशभरका ३४ मुख्य सडक, केही एकतर्फी सञ्चालन



काठमाडौं । अविरल बर्षासँगै आएको बाढीका कारण देशभरको ३४ वटा सडक खण्ड पूर्ण रुपमा ठप्प भएको छ ।

गृह मन्त्रालयले शनिबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार ३४ वटा प्रमुख सडक खण्डहरु अवरुद्ध भएका छन् । यस्तै अवरुद्ध भएको १२ वटा सडक खण्ड आँशिक रुपमा खुलाएर सञ्चालनमा ल्याइएको छ ।

प्राप्त विवरण अनुसार ललितपुरस्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो खस्दा पूर्ण रुपमा अवरुद्ध भएको छ । यस्तै काठमाडौं चन्द्रागिरीस्थित चित्लाङ्ग मकवानपुर सडक खण्डमा पनि पहिरो खस्दा पूर्ण रुपमा उक्त सडक खण्ड अवरुद्ध छ ।

त्यसैगरी कोशी प्रदेशको संखुवासभाअन्तर्गत बाढीका कारण मकालु गाउँपालिकास्थित दक्षिण कोशी राजमार्ग र भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग पूर्ण रुपमा ठप्प भएको छ । ति दुवै सडक बर्षाभर नखुल्ने मन्त्रालयले जनाएको छ । यस्तै उदयपुरको कटारीस्थित अवरुद्ध सिद्धिचरण राजमार्ग बिहान ९ बजेदेखि सुचारु गरिएको छ ।

बागमती प्रदेशको रसुवाअन्तर्गत आमाछोदिङ्गो गाउँपालिकास्थित स्याफ्रुवेशी–थाम्बुचेत सडक खण्ड र पहिरो गएर इन्द्रसरोबर गाउँपालिकास्थित चखेल र देउराली जाने सडक खण्ड पूर्ण रुपमा ठप्प भएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिकास्थित कान्ती लोकपथ, भिमफेदी काठमाडौं सडक पनि पहिरो गएर पूर्ण रुपमा ठप्प भएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित दक्षिणकाली सडक खण्ड भने बिहान ९ बजेपछि खुलाइएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित विपी राजमार्ग पहिरो गएर पूर्ण रुपमा अवरुद्ध छ भने गोलन्जोर गाउँपालिकास्थित अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग बिहान करिब १० बजेदेखि एकतर्फी रुपमा खुलाइएको छ ।

यस्तै नुवाकोट अन्तर्गत ककनी गाउँपालिकास्थित पहिरोका कारण अवरुद्ध भएको पासाङ्गल्हामु सडक खण्ड दुईतर्फी खुलाइएको छ । काभ्रेको रोशी गाउँपालिकास्थित विपि राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । पाँचखाल नगरपालिकास्थित अरनिको राजमार्गलाई एकतर्फी रुपमा खुलाइएको छ ।

उता गण्डकी प्रदेश अन्तर्गत मनाङ्ग जिल्लाको चामे गाउँपालिकास्थित चामे–वेशिसहर सडक खण्ड बाढीका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिकास्थित बेनी–दरवाङ्ग सडक खण्ड र रघुगंगा गाउँपालिकास्थित बेनी–जोमसोम सडक पनि पहिरो गएका कारण पूर्ण रुपमा ठप्प भएको छ ।
पर्वतको पर्वत कुश्मा नगरपालिकास्थित पहिरोका कारण अवरुद्ध भएको मालढुङ्गा बेनी सडक बिहान साढे ८ बजेपछि एकतर्फी रुपमा खुलाइएको छ भने लम्जुङ्गको बेसिशहर नगरपालिकास्थित डुम्रे–बेशिसहर सडक पनि बिहान साढे ५ बजेदेखि खुलाइएको छ ।
स्याङजाको बालिङस्थित सिद्धार्थ राजमार्ग भने पहिरोका कारण अहिले पनि पूर्ण रुपमा ठप्प छ । तनहुँको म्याग्दे गाउँपालिकास्थित अवरुद्ध सडक पृथ्वी राजमार्ग विहान साढे ६ बजेदेखि एकतर्फी रुपमा खुला गराइएको छ । आबुखैरेनी गाउँपालिकास्थित पृथ्वी राजमार्ग भने पूर्ण रुपमा ठप्प छ ।

लुम्बिनी प्रदेशको प्युठान अन्तर्गत पहिरोका कारण नौबहिनी गाउँपालिकास्थित स्याउलीवा बाम्दुला सडक खण्ड पूर्ण रुपमा ठप्प छ । माण्डवी गाउँपालिकास्थित दाङ–प्युठान सडक खण्ड भने पूर्ण रुपमा अवरुद्ध छ ।
पाल्पाको तानसेन नगरपालिकास्थित अवरुद्ध सिद्धार्थ राजमार्ग बिहान करिब ८ बजेटपछि एकतर्फी रुपमा खुलाइएको छ । त्यस्तै रिब्दीकोट गाउँपालिकास्थित तम्घाट बुटवल सडक पनि विहान साढे ८ बजेट पछि एकतर्फी रुपमा खुलाइएको गृह मन्त्रालयले जनाएको छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित रिडि–बागलुङ सडक खण्ड पूर्ण रुपमा ठप्प छ । कालीगण्डकी गाउँपालिकास्थित अर्को सडक कालीगण्डकी करिडर सडक पनि पूर्ण रुपमा ठप्प छ । गुल्मीको गुल्मीदरबार गाउँपालिकास्थित मदन भण्डारी राजमार्ग पनि अवरुद्ध छ ।
अर्घाखाँचीको सन्धीखर्क नगरपालिका र शितगंगा नगरपालिकामा पर्ने गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड तथा पाणिनी गाउँपालिकामा पर्ने पाल्पा–अर्घाखाँची सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

रोल्पामा माडी गाउँपालिकास्थित शहीद राजमार्ग र त्रिवेणी गाउँपालिकास्थित शहीद राजमार्ग पूर्ण रुपमा ठप्प भएको छ भने दाङ्गमा घोराही उपमहानगरपालिकास्थित घोराही–तुल्सीपुर सडक खण्ड पनि पहिरोका कारण पूर्ण रुपमा ठप्प भएको छ ।

कर्णाली प्रदेश अन्तर्गत कालीकोटको शुभकाली गाउँपालिकास्थित अवरुद्ध कर्णाली राजमार्ग दिउँसो करिब २ बजेपछि एकतर्फी रुपमा खुला गरिएको छ । शुभकालीका गाउँपालिका र खाडाचक्र नगरपालिका क्षेत्रमै पर्ने कर्णाली राजमार्गको अर्को क्षेत्र भने पहिरोका कारण अवरुद्ध छ ।

सुदुरपश्चिमको बझाङअन्तर्गत जयपृथ्वी नगरपालिकास्थित जयपृथ्वी राजमार्ग, दार्चुलाको मालिकार्जुन गाउँपालिकास्थित गोकुलेश्वर–दार्चुला सडक र अछामको साँफेवगर नगरपालिकास्थित साँफे–मार्तडी सडक खण्ड पनि पहिरोका कारण पूर्ण रुपमा ठप्प छ ।


क्लिकमान्डु