प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई शुक्रबार पत्र पठाएका हुन् ।

सत्तामा रहेको दल नेकपा एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दाहालले विश्वासको मत लिन लागेका हुन् । एमालेबाट मन्त्री बनेकाहरूले राजीनामा दिइसकेका छन् ।

सत्तारूढ नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ गठबन्धनको लागि सहमति गरेसँगै दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । सत्तामै रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले भने राजीनामा दिएका छैनन् ।

दुई ठूला दलले प्रधानमन्त्री दाहाललाई राजीनामा दिन आग्रह गरे पनि उनले विश्वासको मत परीक्षण गर्न लागेका हुन् ।

कांग्रेस(एमाले मिलेर नयाँ सरकार बनाउने सहमतिसँगै प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको थियो । त्यसैले सत्ता समीकरणको सबैभन्दा ठूलो घटक एमालेले समर्थन फिर्ता लिएर राजीनामा दिन आग्रह गर्यो । तर, प्रधानमन्त्रीले सदनबाट विश्वासको मत लिने अडान लिए ।

कांग्रेस-एमालेबीच सहमति भइसकेको अवस्थामा दाहालले विश्वासको मत पाउने सम्भावना छैन ।

प्रचण्ड संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री बनेका हुन् । सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने र नेकपा एमाले अध्यक्ष केपी शमौ ओलीलाई रोक्न सकिने उनको आशा छ । यद्यपि, कांग्रेसले ७६ (२) अनुसार नै ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय पार्टीबाट औपचारिकरूपमा गरिसकेको छ ।

त्यसैले सरकार गठन आव्हानमा राष्ट्रपतिले कुन धारा समात्छन् त्यस अनुरुप आगामी सरकार बन्ने देखिन्छ ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा कांग्रेस एमाले मिल्दा १६७ सीट पुग्छ । त्यसैले कांग्रेस र एमाले आफनो सहमतिअनुसार अघि बढेको अण्डमा प्रधानमन्त्री दाहालले संसदमा माओवादीको ३२, रास्वपाको २१ र नेकपा एकीकृत समाजवादीको १० गरी कुल ६३ जना सांसदको समर्थन पाउने देखिन्छ । किनकि यी दुइ दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेर अहिलेसम्म सरकारमै सामेल छन् ।


क्लिकमान्डु