निर्माण व्यवसायी महासंघले भन्यो, ‘भुक्तानी नपाएका कारण निर्माण व्यवसायीको ज्यान गएको खबरले मर्माहत भयौं’



काठमाडौं । काम गरे बापत् रकम भुक्तानी नपाएकै कारण निर्माण व्यवसायीको निधन भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

जिल्ला निर्माण व्यवसायी संघ डडेल्धुराका कार्य समिति सदस्य समेत रहेका डम्बरदेव भट्ट (सन्तोष) को उपचारको क्रममा धनगढीमा निधन भएको थियो । असार १५ मा निधन भएको खबरबाट मर्माहत भएको महासंघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । डडेल्धुराको अमरगढी नगरपालिका-५ निवासी भट्टलाई घर नजिकैको जंगलमा घाँटीमा चक्कुले प्वाल परेको अवस्थामा फेला परेपद्धि स्थानीय अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारार्थ धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । त्यहि उपचारको क्रममा उनको निधन भएको थियो ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय अन्तर्गतका ठेक्काहरूको भुक्तानी सम्बन्धित् कार्यालयहरूबाट नआएपछि भट्टले आफू ठूलो आर्थिक समस्यामा परेको निकटस्थहरूलाई बताएका थिए । ‘व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा उनीहरूले मानसिक रुपमा विक्षप्त भई ‘आत्मदाह’ गर्न सक्ने अत्यन्त विषम परिस्थितितर्फ यस महासंघले विगत केही महिना अघि देखि नै सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएपनि हालसम्म कुनै सुनुवाई नभएको विदितै छ ,’ महासंघका महासचिव रोशन दाहालद्धारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भट्टको मृत्युको जिम्मेवारी राज्यले नै लिनुपर्ने महासंघको भनाइ छ । सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन पश्चात् राज्यबाट व्यवसायीहरूको करिब ४० अर्ब रुपैया भन्दा बढी भुक्तानी नभएबाट हजारौं निर्माण व्यवसायीहरू आर्थिक रुपमा ठूलो समस्यामा परेको महासंघले जनाएको छ । अब आर्थिक वर्ष समाप्त हुनै लाग्दा समेत सरकारले व्यवसायीहरूको उक्त अरबौं रकम भुक्तानी गर्न कुनै तदारुकता नदेखाएमा अन्य व्यवसायीहरूबाट समेत यस्तै दुःखद घटना हुन सक्ने पीडादायी अवस्थाप्रति महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

यस्ता दुःखदायी घटना रोक्नका लागि आवश्यक पहल गर्न समेत महासंघका महासचिव दाहालले नेपाल सरकार समक्ष जोडदार माग गरेका छन् । महासंघले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य तत्काल सार्वजनिक गर्न समेत नेपाल सरकारसँग माग गरेको छ ।


क्लिकमान्डु