मदिराले मातेर जहाजमै पुगेका राजेशपायललाई विमानस्थलमै रोकियो



काठमाडौं । सांगीतिक प्रस्तुतीका लागि दुबई जान लागेका गायक राजेशपायल राई अत्यधिक मदिरा सेवन गरेका कारण त्रिभुवन विमानस्थलमै रोकिएका छन् ।

अत्यधिक मदिरा सेवन गरी होहल्ला गरेपछि उनलाई विमानस्थलमै रोकिएको प्रहरीले स्रोतले जनाएको छ । राई बिहीबार फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका हुन् ।

विमानस्थलका सरकारी अधिकारीहरुका अनुसार राईले धेरै मदिरा सेवन गरी होहल्ला गर्दा जहाजले गुनासो गरेको थियो । अब मदिराको नशा कम भएर सामान्य अवस्थामा आएपछि उनी फेरि दुबइ जान पाउने पनि विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

उड्ने तयारीमा रहेको जहाजसम्मै पुगेका उनलाई मदिराले मातेको र हल्ला गरेको देखेपछि बाहिर निकालिएको बताइएको छ । सामान्य अवस्थामा आएपछि उनलाई अर्को उडानबाट दुबई पठाउने पनि बुझिएको छ । चर्चित गायक राई यसअघि पनि विभिन्न सांगीतिक कार्यक्रममा मदिराले मातेको अवस्थामा देखिने गरेका थिए । अष्ट्रेलिया, अमेरिका, दुबइ लगायतका देशमा मदिराले मातेर सांगीतिक प्रस्तुती दिँदा त्यहाँ ठूलो विवाद पनि भएको थियो । केही कार्यक्रममा त उनी कुटपिटमै उत्रिएका थिए ।


क्लिकमान्डु