मेगा श्री गुट्खा उत्पादन गर्ने डीजीआईले एक वर्षमा गर्‍यो सवा १ अर्बको व्यापार



काठमाडौं । देउती गुट्खा इन्डस्ट्रिज (डीजीआई)ले २०२३ मा १ अर्ब १६ करोड १० लाखको ब्यापार गरेको छ । २०२२ मा १ अर्ब १५ करोडको ब्यापार गरेको कम्पनीले २०२१ मा १ अर्ब ४८ लाखको ब्यापार गरेको थियो । तथ्यांकका अनुसार कम्पनीले हरेक वर्ष क्रमश: आफ्नो व्यापार विस्तार गरिराखेको छ ।

बाँके जिल्लाको जानकी गाउँपालिका ६ गनपुरमा फ्याक्ट्री रहेको कम्पनीले ६१ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमध्ये २१ करोड ८० लाखको दीर्घकालीन कर्जा र ३९ करोड १० लाखको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

सुख्खा बन्दरगाह नजिकै रहेको डीजीआईले भारत हुँदै विभिन्न देशबाट कच्चा पदार्थ ल्याउने गरेको छ । २०१५ को जनवरीमा सुरु भएको डीजीआईले हाल देशका प्रमुख क्षेत्रका विभिन्न स्थानमा २ सय वटा आधिकारिक डिलर बनाएको छ।

डीजीआईले विशेषगरी गुट्खा र टोबाको उत्पादन गर्दै आएको छ । जसको ८ हजार मेट्रिक टन गुट्खा, पान मसला उत्पादन गर्ने क्षमता छ भने ५०० मेट्रिक टन मिठा पान सुपारी उत्पादन गर्ने क्षमता रहेको छ ।

विभिन्न स्वादहरुमा सुपारी र सुर्तीजन्य सामग्री साथै गुणस्तरी गुट्खा यसको प्रमुख उत्पादनको क्षेत्र हो । डीजीआईले मेघा श्री गुट्खा र मन्जु श्री गुट्खाको ब्रान्डमा आफ्ना उत्पादन देशभर बिक्री गर्दै आएको छ ।

सानो पारिवारिक स्रोतको रुपमा यो कम्पनी सुदूरपश्चिम क्षेत्रमा सुरु भएको थियो । केही वर्षको अवधिमा व्यवसाय विस्तार भएर डीजीआईले हाल देशव्यापी बजार बनाइसकेको छ ।


क्लिकमान्डु