सभामुखले दलका प्रमुख सचेतकसँग छलफल गर्दै, त्यसपछि कार्यव्यवस्थाको बैठक



काठमाडौँ । जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ । राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय सक्रिय रुपमा जुटेको छ ।

यसका लागि सभामुख देवराज घिमिरेले १२:३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गरेका छन् भने १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ ।

सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण भएको कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।

यसैबीच संसद्‍मा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ । यसअघि पनि कांग्रेसका सांसदको विरोधका कारण संसद्‍ अवरुद्ध भएको थियो ।

कांग्रेसले छानबिन समिति नबनाएसम्म संसद्‍मा विरोध गरिरहने चेतावनी दिँदै आएको छ । तर आज बसेको कांग्रेसको संसदीय दलको बैठकबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने मंगलबार बिहान नै कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । छलफलको क्रममा प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक अवरोध नगर्न आग्रह गरेका थिए। संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका मागमा आफूले छलफल गरिरहेकोले नीति तथा कार्यक्रम पेस गर्न दिन उनले आग्रह गरेका थिए ।


क्लिकमान्डु