सभामुख परामर्शमा व्यस्त, १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक



काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ । राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ ।

सभामुख देवराज घिमिरेले १२:३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दै छन् भने १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गरिरहेको छ । संसदीय छानबिन समिति गठनको निर्णय नभए संसद चल्न नदिने कांग्रेसको चेतावनी छ ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण भएको कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।


क्लिकमान्डु