रवि लामिछाने सहकारी ठगी प्रकरणः काँग्रेस झन् आक्रामक, भातृ संगठनले सडक आन्दोलन चर्काउने
काठमाडौं । यता सिंहदरबारमा प्रधानमन्त्रीसहित सत्तारूढ तीन पार्टीका शीर्ष नेताको बैठक बस्दै गर्दा उता नेपाली काँग्रेसका भातृ संगठनहरु सरकारविरुद्ध आक्रामक बनेका छन् ।
नेपाली काँग्रेसको भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ तथा नेपाल तरुण दलले सरकारलाई दबाब दिन सहकारी पीडितको पक्षमा बृहत् र्याली निकाल्ने भएका छन् ।
नेपाल तरुण दलको सोमबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले बुधबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा सहकारी पीडितको पक्षमा बृहत् र्याली निकाल्ने भएको हो भने महिला संघले सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याई कानूनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्न विरोध र्याली गर्ने जनाएको छ ।
महिला संघले मंगलबार दिउँसो १ः३० बजे रत्नपार्कको शान्तिबाटिकामा र्याली हुने पनि संघले जनाएको छ ।
यस्तै, तरुण दलका अध्यक्ष विद्वान गुरुङको सभापतित्वमा बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा बसेको बैठकले सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगको विरुद्धमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म बृहत् र्याली आयोजना गर्ने निर्णय गरेको छ ।
तरुण दल, महिला संघ तथा नेपाल विद्यार्थी संघका माउ पार्टी नेपाली कांग्रेसले लामो समयदेखि सहकारी पीडितको न्यायका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै आइरहेको छ ।
सोमबार बिहान बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफूहरुको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन्।
राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्र्पति भएको बताउँदै प्रवक्ता महतले त्यो विषयले आफूहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन् ।