राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल शीतलनिवास पुगेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री राष्ट्रपतिसँगको भेटका लागि शीतलनिवास पुगेका हुन् । भेटमा पछिल्लो समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सरकारले जेठ १ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ । उक्त नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदको संयुक्त बैठकमा वाचन गर्ने छन् । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरिरहेको छ ।

राष्ट्रपतिसँग भेट्नुअघि प्रधानमन्त्रीले कांग्रेससँग बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि प्रधानमन्त्रीले भोलि बेलुकासम्म गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु