निजामती सेवा प्रवेशको उमेर हद ३ वर्ष घटाउन प्रस्ताव



फाइल तस्बिर

काठमाडौं । निजामती सेवा प्रवेशको उमेर हद ३/३ वर्ष घटाउन प्रस्ताव गरिएको छ । संसदमा दर्ता भएको सेवा ऐनको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो ।

सरकारले पुरुष र महिला दुबैको सङ्घीय निजामती सेवाको पदमा उम्मेदवार हुनका लागि उमेर हद घटाउन प्रस्ताव गरेको हो । सरकारले राजपत्र अनङ्कित वा सहायक तहको पदमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख गरेको छ ।

त्यस्तै, दर्ता विधेयकमा राजपत्राङ्कित वा अधिकृत तहको पदमा २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने जनाएको छ । सरकारले पुरुष उम्मेदवारको हकमा ३२ वर्ष र महिला उम्मेदवारको हकमा ३७ वर्ष उमेर पूरा नभएको हुनुपर्ने प्रस्ताव गरेको छ । हाल पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४०वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था छ ।

दर्ता विधेयकले भूतपूर्व सैनक वा प्रहरी नियुक्ति हुन भनी तोकिएका सङ्घीय निजामती सेवाको पदमा ४० वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्नेछ । त्यस्तै, अधिकृत नवौं तहको पदका लागि हुने खुला प्रतियोगितामा ४० वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्ने उल्लेख छ । साथै, पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता वा मध्यम अशक्त अपाङ्गता भएको व्यक्ति ३७ वर्षसम्म उम्मेदवार हुन सक्ने जनाएको छ ।

सङ्घीय निजामती सेवाका स्थायी स्थायी कर्मचारी, कर्मचारी समायोजनसम्बन्धी सङ्घीय कानूनबमोजिम सरकारी सेवाबाट प्रदेश निजामती सेवा वा स्थानीय सेवामा समायोजन भएका कर्मचारी वा लोक सेवा आयोग वा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा वा स्थानीय सेवामा स्थायी नियुक्ति भएका कर्मचारीलाई उमेरको हद लाग्ने छैन ।

त्यसैगरी, ऐनबमोजिम अन्तरतह प्रतियोगिता वा बढुवाका लागि उम्मेदवार हुन उमेरको हद लाग्ने छैन ।


क्लिकमान्डु