गृह मन्त्रालयमा रविको अडान, यी ४ मन्त्रालयमा रास्वपाको दाबी



फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गठबन्धनमा ४ मन्त्री र एक राज्यमन्त्री पाउनु पर्ने अडान राखेको छ । सोमबार नेपाली कांग्रेससँगको सहकार्य छाड्दै प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले रास्वपा लगायतका दलसँग गठबन्धन गरेका थिए ।

गठबन्धन बनेसँगै सरकार विस्तारको गृहकार्यमा दलहरु जुटेका छन् ।

प्रधानमन्त्रीले हिजै एमाले रास्वपा र माओवादीका १/१ जना सहभागी गराए मन्त्रिमण्डल पुनर्गठन गरेका छन् तर ती मन्त्रीहरुलाई मन्त्रालयको जिम्मा दिइएको छैन ।

गठबन्धन दलहरुमा संख्या टुंगिएपछि मन्त्रालय भागवण्डा गरिने नेताहरुले जाएका छन् ।

गठबन्धन दलमा तेस्रो ठूलो दल रास्वपाले उपप्रधान र गृहसहित चार मन्त्रालय र एक राज्यमन्त्री माग गरेको छ ।

रास्वपा सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रालय लिएर पार्टीबाट सरकारको नेतृत्व गर्दै सहभागी हुने तयारीमा छन् । तर एमालेले पनि गृहमा दाबी गरिरहेको स्रोतको भनाइ छ । रास्वपाले गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको उक्त पार्टीका एक सांसदले बताए ।

त्यस्तै रास्वपाले जनतामा डेलिभरी दिनसक्ने मन्त्रालयमा दाबी प्रस्तुत गरेको छ । रास्वपाले गृहसहित सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दाबी गर्दै छलफललाई अघि बढाएको छ ।

तर आफूले मागेकै पाइनेमा भने रास्वपा ढुक्क छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले अन्य दलबाट सरकारमा सहभागी हुने नेता, बरियताक्रम र पोर्टफोलियो हेरेर निर्णयमा पुग्ने बताए ।

‘सरकारमा कति पद चाहिन्छ भन्ने दाबीका लागि व्यवहारिक, सैद्धान्तिक र प्राविधिक पक्ष हेर्नुपर्छ को को सहभागी हुन्छन् त्यो पनि हेर्नुपर्छ । रास्वपाले ४ वटा मन्त्रालय पाउँछ’ उनले भने ।

उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबन्डा टुंगो लगाउने छलफलमा सहभागी छन् ।

वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सी धरापमा नपरे पनि निर्णायक सम्बोधनको जोखिम मोलेकाले आफूहरु सरकारमा सहभागी भएको बताएका छन् ।

प्रधानमन्त्रीले रास्वपाबाट धेरै अपेक्षा गरेर साझेरादीको हात फैलाएकोले आफूहरु सरकारमा सहभागी भएको उनको भनाइ छ । जनतालाई डेलिभरी दिन नसकेको दिन आफूहरू सरकारबाट बाहिरिने उनको भनाइ छ ।

‘पछिल्लो चरणमा प्रधानमन्त्रीज्यूबाट नयाँ ढंगबाट जाऔँ भन्ने आह्वान भयो । मुलुकको सबैभन्दा ठूलो दलसँगको उहाँको साझेदारी टुट्ने अवस्था आयो । हामी चौँथो ठूलो दलबाट उहाँले यति धेरै अपेक्षा गर्नुभएको छ कि उहाँले साझेदारीको हात फैलाउनुभयो,’ वाग्लेले भने ।


क्लिकमान्डु