गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटार पुगे लघुवित्तपीडित



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै लघुवित्तपीडितहरु बालुवाटार पुगेका छन् ।

बुधबार पीडितहरु लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुमा गर्नुपर्ने लगायतका माग गर्दै बालुवाटार पुगेका हुन् ।

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहालले लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाएका थिए ।

देशभरका मिटरब्याजी पीडितहरू देशका विभिन्न स्थानबाट २२ दिन पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका हुन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत उनीहरुका माग छन्।

यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए । पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

काठमाडौंमा मंगलबार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागीले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताएका थिए ।


क्लिकमान्डु