नेपाली सेनासँग करिब ७६ अर्ब नगद मौज्दात, साढे ८२ अर्ब बढी सम्पत्ति



काठमाडौं । नेपाली सेनाको विभिन्न कोषमा ७५ अर्ब ९० करोड ५७ लाख ४९ हजार नगद मौज्दात रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार विभिन्न कार्यक्रममा ६ अर्ब ७५ करोड ५५ लाख लगानीसमेत कोषको यथार्थ सम्पत्ति ८२ अर्ब ६६ करोड १२ लाख रहेको छ ।

सैनिक कल्याणकारी निर्देशनालय मातहत सञ्चालित शिक्षण संस्था, स्वास्थ्य उपचार सुविधा एवं अन्य गतिविधिबाट तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको जनाइएको छ । यस्तै, वार्षिक एक अर्ब २५ करोडभन्दा बढी रकम मुलुकको राजस्वमा प्रत्यक्ष योगदान रहेको निर्देशनालयले जनाएको छ ।

आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यले आवश्यक महसुस गरेर सुम्पेका जिम्मेवारी निर्वाहमा नेपाली सेना सदैव अब्बल रहँदै आएको बताएका छन । २०३२ सालमा मा स्थापना भई सञ्चालनमा रहेको गैरनाफामूलक कोष र मातहत सञ्चालित विविध गतिविधिबारे जानकारी लिँदै उपप्रधानमन्त्री खड्काले मुलुकका लागि मरिमेट्न तयार सैनिक व्यक्ति र तिनका परिवारजनसँग जोडिएको कल्याणकारीका प्रकृयागत जटिलता समाधानमा सरकारको पूर्ण सहयोग रहने बताए ।

सैनिक कल्याणकारी निर्देशनालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री खड्काले सैनिक कल्याणकारी कोष सकलदर्जाको योगदानबाट खडा भइ सेवारत र अवकाश प्राप्त सैनिक व्यक्तिको भरोसा बनेको बताए । रक्षामन्त्री खड्का सैनिक कल्याणकारी कोषको सहसंरक्षक हुन् ।

‘सैनिक कल्याणकारी कोषको मूल स्रोत घट्ने अवस्था आइपरेमा समेत सेवा विस्तार गर्ने चुनौतीसँग सन्तुलन मिलाउन विकल्पको पहिचान गरी आयआर्जनको दायरा विस्तार गर्नेतर्फ विचार पुर्याउन जरुरी छ’ उनले भने ।

रक्षामन्त्री खड्काले राष्ट्रिय सुरक्षाको मुख्य दायित्वसँगसँगै देशको विकासमा पनि योगदान पुर्याउँदै आएको सेनाले कोषमार्फत सञ्चालित शैक्षिक गतिविधिको उत्कृष्ट नतिजा तथा यस्ता कार्यक्रमबाट सर्वसाधारणले पनि लाभ हासिल गरेको देख्न र सुन्न पाउँदा आफूलाई खुसी लागेको बताए ।


क्लिकमान्डु