संसारभरका ठूला र आकर्षक विमानस्थलहरु पीपीपी मोडलबाटै चलेका छन्: मन्त्री किराँती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निजगढसहितका अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

मन्त्री किराँतीले विश्वका ठूला र चलेका अन्तर्राष्ट्रिय विमानस्थलहरु पीपीपी मोडलमा नै सञ्चालन भएकाले सरकारले पनि त्रिभुवन अन्तर्राष्ट्रियसहित निजगढ, पोखरा, भैरहवा विमानस्थललाई सोही मोडल अघि बढाउने गरी अध्ययनको कामलाई अघि बढाउने तयारी गरिरहेको बताए ।

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री किराँतीले यसलाई छलफलको विषय बनाएर साझा निष्कर्षमा पुग्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।

मन्त्री किराँतीले राजनीतिक दवावको आधारमा आफूले कुनै पनि विमानस्थल निर्माण गर्ने कामलाई अघि नबढाउने समेत स्पष्ट पारे । राजनीतिक दबाब र हचुवाको भरमा अघि बढाएकाले बनेको विमानस्थलहरु प्रयोगमा आउन नसकेको उनको स्पष्टीकरण थियो ।

मन्त्री किराँतीले यसो भने

अब भैरहवा एउटालाई म्यानेजमेण्ट एउटालाई कन्टयाकमा दिएर भएन । पोखरा दिएर भएन । ट्राफिक त एउटै हो नि नेपालको । व्यवसायिक संस्थाहरुबीच झगडा भएर झन कुनै सक्किने, कुनै चल्ने पनि हुन जान्छ । के गर्ने त नेपालको हकमा भन्दा चार वटालाई नै एउटा बण्डलिङ गर्ने र त्यसले निश्चित समय भित्र त्यो तोकिएको समयमा नयाँ एयरर्पोट पनि बनाउने । सुरक्षाको प्रश्न नेपाल सरकारले गर्छ ।

अरु पीपीपी मोडलबाट सञ्चालन गर्दा कसो होला भनेर यो पनि हामीले अध्ययन समिति बनाउँदैछौं । अध्ययन समिति नबनाउँदा फेरि हचुवा होला । अध्ययन नगरी योजनाहरु बनाएको हुनाले आज हाम्रो अवस्था लथालिंग भएको हो नि । यत्रो एयरर्पोट हामीले बनायौ । तर फेरि पनि म कडाईका साथ भन्छु–राजनीतिक दबाबको आधारमा अव एयरर्पोट बन्दैन । र बनाउनु पनि हुँदैन हामीले । कतिवटा एयरर्पोट बनाउने नेपालमा ?

संसारभरका ठूलो र आकर्षक एयरर्पोटहरु पिपिपी मोडलबाटै चलेका रहेछन् । सुरक्षाको प्रश्न जहाँसम्म नेपालमा देखाइन्छ । यो पुरानो कुरा हो । सबभन्दा थ्रेट त नेपाललाई भन्दा दिल्लीलाई छ नि । दिल्ली त चलिराखेको छ नि । सिंगापुर पनि त्यसैगरी चलेको छ । अरु थुप्रै संसारका एयरर्पोटहरु यसरी चलेको छ । यो पनि फेरी मन्त्रालय र मन्त्रीको विषय होइन । राष्ट्रिय विषय हो । यसमा सबै राजनीतिक दलहरुले साझा एजेण्डा बनाउँदा यो अघि जानसक्छ । यो कुनै एउटा व्यक्ति विशेषको इच्छा र चाहनाले मात्रै हुँदैन । यो ठूलो विषय हो । यसरी जानुपर्छ भन्ने मलाइ लागेको छ ।

नेपाल वायु सेवा निगम नाफामा छौ कि घाटामा भनेर कसैले सोध्यो भने यो त सत्यतथ्य हुनुपर्‍यो, दुधको दुध पानीको पानी हुनुपर्‍यो । यो आजको ऋण होइन । तर हामीले मन्त्रालय सम्हालीसकेपछि व्यवस्थापन खर्चमा नाफा भई ५ अर्व ऋण तिरेको चाहीँ हो । अहिले ४ वटा जहाजले कसरी लगेर ४९ अर्व ऋण तिर्नु ? त्यसमा पनि के ग्राउण्ड ह्याण्डलिङले नै सबै कुरा धानेको हो त भन्ने कुरा पनि छ । सत्य त्यो होइन । यसमा २० प्रतिशत ग्राउण्ड हेण्डलिङको योगदान छ । अरु जहाज उडाएरै छ । यसपाला दशैँमा हामीले फुलफेज जहाज उडाएर हामीले धेरै राम्रो सन्देश बाहिर पनि दियौं । र, कमाई पनि भयो । अहिले पनि हामीले पटकपटक यही जवाफ फेरि दिनु नपरोस् । आजदेखि यहाँ मिडिया हुनुहुन्छ । एक वर्षमा हामी व्यवस्थापन खर्चमा नाफामा गयौं । पहिलाको ऋण छ अर्ब तिर्‍यौं । यही कुरा चाहीँ सत्य हो । हामीले तीन न्यारोबडी विमान खरिद गर्ने निर्णय पनि गरेका छौं । निजी क्षेत्रको मनपरी रोक्नलाई पनि निगमले विमान खरिद गर्न आवश्यक छ । निगम भित्रको भ्रष्टाचारलाई शुन्य बनाएर लैजानुपर्छ । करार व्यवस्थापन गरेर निगमलाई सुधार गर्ने हाम्रो मुख्य कार्ययोजना हो । यसका लागि विज्ञहरुले अध्ययन गर्नेछन् । र राष्ट्रिय सहमतिको आधारमा त्यसको आवश्यक निर्णय हुनेछ । यसका लागि ढिलाई नगरौं ।


क्लिकमान्डु