प्रिमियम मूल्यमा आईपीओ बाँडफाँट भइसकेकाले सच्याउन सम्भव छैन, नयाँ स्वीकृति रोकिन सक्छ: प्राधिकरण



काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रमियम मूल्यमा आईपीओ बाँडफाँट भइसकेकोले त्यसलाई सच्याउन सम्भव नभएको बताएका छन् ।

बहीबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रिमियम शुल्क लिएर आईपीओ निष्कासनका लागि प्राधिकरणले गरेको स्वीकृतिको निर्णय तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो । तर, प्राधिकरणका प्रवक्ता राजुरमण पौडेले लेखा समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सम्भवन नरहेको बताए ।

आईपीओ बाँडफाँट भइसकेको अवस्थामा निर्णय उल्टाउन सम्भव नभएको प्राधिकरणका प्रवक्ता पौडेलले बताए ।

बीमा प्राधिकरणले ५ वटा बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति दिएका थियो । जसमध्ये सन नेपाल लाइफ इन्स्योरेन्स,रिलायबल नेपाल ,आइएमई लाइफ इन्स्योरेन्स,सिटिजन्स लाइफ इन्स्योरेन्स गरि ४ वटा कम्पनीले सेयर बाँडफाँट गरेर दोस्रो बजारमा समेत कारोबार सुरु गरिसकेका छन् । हिमालयन रि इन्स्योरेन्सले भने केहि दिन अघि मात्रै आईपीओ बाँडफाँट गरेको छ ।

समितिले उक्त कम्पनीको स्वीकृति फिर्ता लिनुपर्ने वा अब स्विकृति दिन बन्द गरिनुपर्ने भन्नेबारेमा स्पष्ट पारेको छैन । यसले पथ अन्यौल बनाएको प्रवक्ता पौडेलको भनाइ छ । ‘हामीकहाँ पत्र आएको छैन,निर्देशनमा भनेअनुसार बाँडफाँटमा गइसकेका कम्पनीको स्वीकृति खारेज गर्न सम्भव देखिँदैन अब नयाँ दिन स्वीकृति रोकिन सक्छ’ उनले भने।

प्राधिकरणले स्वीकृति दिइसकेका ५ वटै कम्पनीको हकमा लेखा समितिको निर्देशन कार्यन्वय गर्न संभव नभएको भन्दै आगामी दिनमा भने प्रिमियम शुल्क मार्फत आइपीओ जारी गर्न रोक लाग्न सक्ने उनले बताए । ‘पत्र आएपछि हामीले बोर्ड कमिटीसँग छलफल गरेर अगाडि बढ्छौँ,’ उनले भने ।

प्रिमियमबाट आईपीओ जारी गर्ने स्वीकृति दिएसँगै प्राधिकरणले केही घराना व्यवसायी र तीसम्बद्ध कम्पनीलाई पोसेको आरोप लागेको छ । लेखा समितिको बिहीबारको बैठकमा प्राधिकरणले प्रमियममा आईपीओ जारी गर्न दिएर नीतिगत भ्रष्टाचार गरेको आरोप सांसदहरुले लगाएका थिए ।

निष्कासनमा आएका ४ वटा कम्पनीमध्ये सन नेपाल लाइफले ९६ करोड रुपैयाँ, रिलायबल नेपालले १ अर्ब २० करोड रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब २० करोड र सिटिजन्स लाइफ इन्स्योरेन्सले १ अर्ब १२ करोड रुपैयाँ प्रिमियमबापतको शुल्क लगानीकर्ताबाट उठाएका थिए । हिमालय रिको सेयर २०६ रुपैयाँमा निष्काशन गरि बाँडफाँट भइसकेको छ ।


क्लिकमान्डु