श्रीलंकाको यूनियन बैंक अफ कोलम्बोको अध्यक्षमा निर्वाण चौधरी



काठमाडौं । नेपालकै ठूलो व्यापारिक घराना चौधरी समूहका उपाध्यक्षसमेत रहेका उद्यमी निर्वाण चौधरीले श्रीलंकाको यूनियन बैंक अफ कोलम्बोको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

चौधरीलाई गत बिहिबार यूनियन बैंकको अध्यक्ष पदमा नियुक्त गरेको थियो । उनी नेपालको अग्रणी नबिल बैंकका सञ्चालक समेत हुन् ।

चौधरी समूहले झन्डै ०७९ मंसिरमा यूनियन बैंक अफ कोलम्बोको ७०.८४ प्रतिशत सेयर किनेको थियो । श्रीलंका चरम आर्थिक संकटमा फसेका बेला श्रीलंकाको आठौं ठूलो बैंक रहेको यूनियन बैंक अफ कोलम्बोको पनि समस्यामा परेको थियो। चौधरी समूहको सिजी क्यापिटल पार्टनर्सले ९ अर्ब १० करोड श्रीलंकाली रुपैयाँमा उक्त सेयर किनेको थियो । सिजी क्यापिटल पार्टनर्स चौधरीको सीजी कर्प ग्लोबल र रविभक्त श्रेष्ठ अध्यक्ष रहेको आइजे ग्रुप (साबिक एनई ग्रुप)को संयुक्त लगानीमा सिंगापुरमा दर्ता भएको निजी इक्विटी कम्पनी हो।

निर्वाण गत अक्टोबर २०२३ मा यूनियन बैंकको सञ्चालक समितिमा सञ्चालक नियुक्त भएका थिए। उनी सिंगापुरमा रहेको सिजी क्यापिटल पार्टनर्स प्रालिका प्रबन्ध निर्देशकको हैसियतमा बैंककमा सञ्चालक भएका हुन् ।

युनियन बैंक अफ कोलम्बोका अध्यक्ष निर्वाण चौधरी, सञ्चालकद्धय मलय मुखर्जी र सञ्जय पोखरेल

७०.८४ प्रतिशत सेयर स्वामित्व रहेको चौधरी समूहका तर्फबाट नेपाली नागरिक सञ्जय पोखरेल र मलय मुखर्जीलाई सञ्चालकमा नियुक्ति गरिसकेको छ । मुखर्जी संस्थापक सेयरधनीका तर्फबाट नबिल बैंकको सञ्चालक पनि हुन् । त्यतिमात्र होइन, मुखर्जी यूनियन बैंक अफ कोलम्बोको सहायक कम्पनी युबि फाइनान्सका अध्यक्ष हुन् भने पोखरेल सदस्य हुन् ।

ऋणमा फसेको उक्त बैंकले पछिल्ला वर्षहरुमा सम्पत्ति बेचेर ऋण तिर्दै आएको देखिन्छ।

सन् १९९५ देखि सञ्चालित यूनियन बैंक अफ कोलोम्बोसँग अहिले ४२ करोड २४ लाख ३८ हजार अमेरिकी डलर बराबरको सम्पत्ति छ भने ३५ करोड ७ लाख ६६ हजार डलर बराबरको ऋण छ । सन् २०२० मा बैंकको कूल सम्पत्ति ६८ करोड ७८ लाख ९२ हजार डलरको सम्पत्ति र ५८ करोड ८ लाख ५ हजार डलर ऋण थियो । २०२१ मा ६० करोड २३ लाख ३२ हजार सम्पत्ति र ५० करोड ६० लाख ४४ हजार डलर ऋण थियो भने २०२२ मा ३७ करोड ६ लाख २५ हजार डलर सम्पत्ति र ३१ करोड २९ लाख ५३ हजार डलर ऋण थियो ।

विश्वविख्यात म्यागेजिन फोर्ब्सको डलर अर्बपतिको सूचीमा पर्ने पहिलो र एकमात्र नेपाली व्यवसायी विनोद चौधरीका जेठा छोरा हुन् निर्वाण । विनोद अहिले राजनीतिमा सक्रिय छन् । नेपाली कांग्रेसका निर्वाचित केन्द्रिय सदस्यसमेत रहेका उनी नवलपरासी बर्दघाट सुस्ता पश्चिमबाट निर्वाचित सांसद पनि हुन् ।

काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका निर्वाणले र लन्डन बिजनेस स्कूल, बेलायत र अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट उद्यमशीलता विषयमा समेत स्नातकोत्तर गरेका छन्। निर्वाणले चौधरी समूहका खासगरी बैंक तथा वित्तीय संस्था, प्रविधि र अटोमोवाइल क्षेत्रको व्यवसाय हेर्दै आएका छन् ।

चौधरी समूह र इन्डियन होटल्स कर्पोरेसन लिमिटेडको संयुक्त लगानीमा चर्चित ताज होटेल श्रीलंकाको कोलम्बोमा रहेको समुद्री तटमा सन् २००१ देखि सञ्चालित छ ।


क्लिकमान्डु