चन्द्रागिरीबाट आकाशको बाटो हुँदै चित्लाङ झर्दा…



काठमाडौं । साहसिक खेल भन्नेबित्तिकै मलाई छुट्टै खुसीको अनुभूति हुन्छ । हुन त मैले अहिलेसम्म धेरै साहसिक खेल खेल्ने मौका पाएको छैन । तर, म प्राय: सामाजिक सञ्जालमा पाइने साहसिक खेलहरुको भिडियो हेरेर मज्जा लिने गर्छु ।

शुक्रबार बेलुका म घर जाँदै थिए । पुष्प सरले फोन गरेर तिमी प्याराग्लाइडिङ गर्न जाने हो भन्दै सोध्नुभयो । मैले कहिले र कुन समय भनेर सोधें । सरले अबको आइतबार वा सोमबार जाने योजना छ । तिमीलाई फोन आउँछ भन्नुभयो । साथै, सरले अघिल्लो दिन समाचारको किस्सा सुनाउँदै चन्द्रागिरीबाट चित्लाङ कसरी आउने भनेर अनुभव लिएर आऊ भन्नुभयो ।

बिहीबारमात्रै अब चन्द्रगिरीबाट चित्लाङसम्म प्याराग्लाइडिङ भन्ने समाचारको शीर्षक पढेको थिएँ । तर, भित्र खोलेर हेरेको थिइन । त्यसैबेला चन्द्रगिरीबाट चित्लाङमा प्यारागलाइडिङ रे ! चित्लाङबाट कसरी आउने भन्दै मैले सरलाई प्रश्न गरेको थिएँ ।

मलाई चित्लाङ मकवानपुर जिल्लामा पर्छ भन्ने थाहा थियो । तर, उपत्यकानजिकै पर्छ भन्ने थाहा थिएन । त्यसैले आश्चार्य मानेर प्रश्न गर्दा सरले हाँस्दै गाडीमा ल्याइदिन्छ भन्नुभयो । त्यही प्रश्न गरेको भएर होला सरले मलाई अनुभव गरेर आऊ भन्नुभए जस्तो लाग्यो ।

प्याराग्लाइडिङ गर्न जाने त भनेँ तर मनमा भने डर लागेको थियो । कस्तो अनुभव होला र के हुन्छ होला भन्ने उत्सुकता जाग्यो । शनिबार बसिरहेको थिएँ, प्याराग्लाइडिङ गर्ने अवसर मिलाउने विष्णुकान्त घिमिरे सरले फोन गर्नुभयो । उहाँले कहाँ भेट गर्ने र कस्तो लुगा लगाएर जाने भन्नेबारे जानकारी दिनुभयो ।

अघिल्लो दिनमा प्याराग्लाइडिङ जाने भन्ने बेलासम्म मलाई केही लागेको थिएन । तर, जब विष्णु सरले फोन गर्नुभयो, त्यसपछि त डर झनै बढ्दै गयो । त्यसैबेला पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनाको झट्ट याद आयो । एक मनले त नजाम कि क्या हो जस्तो लाग्यो । अर्को मनले भने होइन अहिले नगरे कहिले गर्ने भन्ने आँट लिएँ ।

मैले यसअघि २०७८ सालमा म पोखरा जाँदा प्याराग्लाइडिङ गर्ने सोच बनाएको थिएँ । तर, मौसमका कारण त्यसबेला प्याराग्लाइडिङ हुन सकेन । प्याराग्लाइडिङ नभएपछि त्यसको साट्टो मैले अल्ट्राफ्लाइटको मज्जा लिएर आएको थिएँ । अल्ट्राफ्लाइट गरिसकेपछि झनै मलाई अन्य साहसिक खेलको मज्जा लिन मन लागेको थियो । अझ भनौं, प्याराग्लाइडिङ, बन्जी जम्प र स्काई डाइभिङ गर्न निकै रुचि जागेको थियो ।

स्काई डाइभिङ त नहोला तर बन्जी जम्प र प्याराग्लाइडिङ भने सम्भव छ । उक्त खेलको मज्जा लिनुपर्छ भन्ने मनमा थियो । नभन्दै प्याराग्लाइडिङको अवसर मिल्यो ।

मलाई प्याराग्लाइडिङ भन्नेबित्तिकै अझै पनि पोखरामा भएको दुर्घटनाको झट्ट याद आइहाल्छ । शनिबार बेलुका पनि परिवारसँग सल्लाह गर्दा सानोममीले किन जानुपर्‍यो त्यस्तो खेल खेल्न भन्दै नाक खुम्चाउनुभएको थियो । तर, सधैं डराएर हुँदैन । एकपटक त प्याराग्लाइडिङ गर्ने नै हो भन्दिएँ । अरुलाई उक्त जवाफ दिए पनि मनमा भने एक खालको डर भइरहेको थियो । हजारौं मानिसले गरिरहेका छन् । त्यसमा दुर्घटनामा पर्नु आफ्नो भागमा लेखेको छ भने हुन्छ भन्दै मनलाई सान्त्वना दिएँ ।

बिहानै ६ बजे उठेर तयार भएर चन्द्रगिरीतिर हाँकिए । त्यहाँ गएपछि चिनजानका साथीहरुसँग भेट भयो । त्यसपछि भने छुट्टै माहोल बन्न थाल्यो । साथै, हामीले उपत्यकाबासीका लागि सहज हुने गरी प्याराग्लाइडिङको सुविधाको विकास गर्ने द बाबु एड्भेन्चरका अध्यक्ष सानोबाबु सुनुवारलाई पनि भेट्ने मौका पायौं ।

चन्द्रगिरी जाने पहाडको फेदमा बसेर हामीले खाजा खायौं र गन्तव्यतर्फ अगाडि बढ्यौं । साथीहरुले यसअघि नै विभिन्न साहसिक खेलको मज्जा लिएकाले उनीहरुले अनुभव सुनाइरहेका थिए । चन्द्रगिरीबाट चित्लाङ जाने बाटो निकै कच्ची थियो । त्यहीबेला सवारी चालक दाइले प्याराग्लाइडिङ गर्दा ‘स्टन्ट’को मज्जा लिनु है भन्नुभएको थियो ।

साढे ९ बजेतिर हामी प्याराग्लाइडिङ टेक अफको स्थानमा पुग्यौं । त्यहाँ पुग्दा मौसम निकै खुलेको थियो । त्यहाँबाट चन्द्रगिरीको मन्दिर र चित्लाङको फाँट सहजै देखिन्थ्यो । उक्त स्थानमा पुगेपछि मैले सोचेको भन्दा छुट्टै अनुभव पाएँ । चन्द्रगिरीको पछाडिको भागबाट मकवानपुर जिल्ला छुट्टेको रहेछ । चन्द्रगिरी र चित्लाङको दूरी धेरै टाढा नभएकाले चन्द्रगिरीबाट चित्लाङसम्म प्याराग्लाइडिङ सुरु भएको रहेछ भन्ने लाग्यो ।

प्याराग्लाइडिङको टेक अफ गर्ने ठाउँमा पुगेपछि फोटो तथा भिडियो लिन थाल्यौं । प्याराग्लाइडिङ पाइलटहरुले उडानको तयारी गरिरहेका थिए । तयारी भइसकेपछि द बाबु एड्भेन्चर्सका व्यवस्थापक नवीन गुरुङले प्याराग्लाइडिङ गर्दा के-के गर्नुपर्छ भन्ने इन्स्ट्रक्सन दिनुभयो ।

तयारी सम्पन्न भएपछि पहिला को जाने भन्ने भयो । पहिलो चरणमा तीन जनाले मात्रै उडान भर्ने भएकाले महिला साथीहरु पहिलो चरणमा जाने योजना भयो । साहसिक खेलको तयारी भइरहँदा मलाई चाहिँ कहिले गरौं जस्तो भइसकेको थियो । त्यहीबेला मैले फोटो भिडियो केही कारणले नआउने त हुन्न नि भनेर प्रश्न गरे । व्यवस्थापक गुरुङले फोटो भिडियो चिन्ता नलिनु भनेपछि म ढुक्कले प्याराग्लाइडिङ गर्न तयारी भएँ ।

सुरुमा एक जना साथीले प्याराग्लाइडिङ गरिन् । त्यसपछि मेरो पालो आयो । व्यवस्थापक नवीन आफैं मेरो प्याराग्लाइडिङको पाइलट हुनुभयो । उहाँले सुरुमा हार्नेस ब्याज मलाई दिइसकेपछि फोटो खिच्यौं र १० बजेतिर प्याराग्लाइडिङको उडान भर्‍यौं । साहसिक खेलमा रुची भएकाले होला मलाई सुरुमा डर लागेन ।

सुरुमा बसाइ नमिलेका कारण अप्ठ्यारो भएको थियो । पाइलटले बसाइ मिलाएर उडानको मज्जा लिन भने । ‘डर त लागेको छैन नि ?’ उनले सोधे । मैले हाँस्दै ‘हिजो चाहिँ डर लागेको थियो, आज त छैन’ भनेर जवाफ दिएँ ।

प्याराग्लाइडिङ सुरु भएपछि मैले चारैतिर हेरें । आहा ! कति रमाइलो र हरियाली । जंगलको माथि-माथि प्याराग्लाइडिङबाट हरियो वन र बोटबिरुवा नियाल्दा छुट्टै आनन्दको अनुभूति भयो । चारैतिर जंगलै-जंगल र तलतिर चित्लाङको समथर ठाउँ ।

प्याराग्लाइडिङ त साँच्चै रमाइलो हुने रहेछ । त्यही भएर त मानिसहरु समय निकालेर खर्चेर काठमाडौंदेखि २०० किलोमिटर टाढा पोखरामा प्याराग्लाइडिङ गर्न जाँदा रहेछन् भन्ने लाग्यो । उडान गरिरहँदा मनमा छुट्टै आनन्दको अनुभूति भयो । हावाको बेग नमिलेका कारण केही समयसम्म हामी उडान भरेको स्थानका वरिपरि घुमिह्यौं ।

पाइलटले तपाईं र मेरो धेरै तौल भएर हो क्यारे माथि जान समय लाग्यो भन्दै ठट्टा गर्नुभयो । मैले मलाई नि त्यस्तै लाग्यो भन्दै हो मा हो मिलाएँ । उनले विभिन्न समयमा फोटो भिडियो लिइरहेका थिए । साथै, फोटोका लागि विभिन्न पोज सिकाउन लगाउँदै फोटो खिच्न लगाएँ । तर, मलाई फोटो खिच्ने रहर भए पनि पोज दिएर भने खिच्न खासै आउँदैन । पाइलटले पनि ठ्याक्कै त्यही भनिहाले ।

कुराकानी गर्दागर्दै विस्तारै हावाको बेगसँगै हामी माथि-माथि पुग्यौं । त्यसपछि भने केही डर लाग्न थाल्यो । चिसो हावासँगै मन पनि चिसो हुन थाल्यो । सोही क्रममा मैले पाइलटलाई प्रश्न गर्न खाजें । हुन त त्यसबेला उक्त प्रश्न गर्ने उचित समय थिएन । तर, मैले सुरुमै यो बेला यस्तो प्रश्न गर्ने समय त होइन भन्दै आफ्नो कुरा राखें । मैले सिधै प्याराग्लाइडिङ के कारणले दुर्घटना हुन्छ भनेर सोधेँ । पाइलटले यसको प्रश्न झरिसकेपछि दिन्छु है भन्दै अन्तै कुरा मोडे ।

उडान भइरहेका बेला दुर्घटनाको बारेमा सोच्नु गलत हो । तर, मलाई उडान भरिरहेका बेला भुइँतर्फ हेर्दा भने निकै डर लाग्यो । एकछिन अगाडिसम्म खुसीले चिच्याउने र आनन्द लिइरहेको बेला भुइँतर्फ हेर्दा भने ‘ओहो ! एड्भेन्चर्स त एड्भेन्चर्स नै हो’ जस्तो लाग्यो ।

पाइलटले मलाई प्याराग्लाइडिङको उडानबाट काठमाडौं, काठमाडौंको वरिपरि खुलेका हिमाल चित्लाङको समथर भू-भाग बेला विस्तारमा देखाउँदै फोटो खिचाए । उक्त समयमा साँच्चै यस्ता खेलहरु एकपटक मात्रै होइन, विभिन्न स्थानमा गएर समय-समयमा गर्नुपर्छ जस्तै लाग्यो ।

२३ सय मिटरबाट सुरु भएको उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिने उनले बताए । विभिन्न क्षेत्रका दृश्य अवलोकन गर्दै समुद्र सतहबाट १७ सय मिटर उचाइमा रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण हुन्छ भनेका थिए ।

प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौँ उपत्यकाका अधिकांश भू-भाग देखें । रसुवा र धादिङका भूभागसमेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङलगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न पाउँदा छुट्टै खुसीको महसुस भयो । मौसम खुलेका बेला उत्तरतर्फ देखिने फराकिलो हिमशृंखलाले त झनै मोहित बनायो ।

केही समयको दूरीमा प्याराग्लाइडिङ सुविधाले हिमशृंखलालगायत उपत्यका अवलोकन गर्न पाउनु नै ठूलो कुरा हो जस्तो लाग्यो । उडान भरेर मनोरञ्जन लिइरहेका बेला अघि सवारी चालक दाइले भन्नुभएको स्टन्ट गर्नुपर्छ है भन्नचाहिँ बिर्सेछु । तर, पाइलटले उडान भरेको २० मिनेटपछि भने स्विङ हान्ने हो ? भन्दै सोधे । मैले झट्ट सम्झिहालें । अघि सवारी चालक दाइले भन्नुभएको स्टन्ट हो ? भनेँ । उनले हो भनेपछि मैले केही नभनीकन ओके गरें । पाइलटले भिडियोका लागि तयारी गरे ।

पाइलटले स्विङका लागि ओके भन्नेबित्तिकै चार-पाँच पटक फन्को लगाइदिए । स्विङ गर्दा भयो भने भन्नु है भन्नुभएको थियो । दुई-तीन पटक फन्को मार्दा मैले भयो भन्दाभन्दै पाइलटले ५-६ पटक घुमाउनुभयो । त्यसपछि पुनः मैले एकपटक फेरि स्वीङ गर्न आग्रह गरें । प्याराग्लाइडिङमा सामान्य उडानभन्दा स्विङको मज्जा लिँदा झनै आनन्द आउने रहेछ । तर, स्विङ गरिसकेपछि भने मलाई डरसँगै अप्ठ्यारो महसुस भयो । हावाले टाउको दुख्न थाल्यो भने स्विङले शरीरलाई नै गाह्रो बनायो ।

लगत्तै मेरो कान पनि चिसो हावाका कारण बन्द भयो । त्यसपछि भने झनै डर लाग्यो । मनमा डर र स्वास्थ्यमा देखिएको गडबडीका कारण मलाई कहिले ल्यान्ड गरौं जस्तो भइसकेको थियो । बोल्न पनि अप्ठ्यारो भयो । मैले सकिनसकी पाइलटलाई अब हामी कहिले र कहाँ ल्यान्ड गर्छौं भनेर सोधें । अब हामी ल्याउन हुन्छौं भन्दै उनले स्थान बताए । नभन्दै एकैछिनमा हामी ल्यान्ड भयौं ।

३० मिनेटभन्दा बढी आकाशमा प्याराग्लाइडिङको मज्जा लिई ल्यान्ड भएपछि अब भने बाँचियो भन्ने लाग्यो । ल्यान्डिङ स्टेसनमा पुग्दा साथीलाई पनि स्विङका कारण स्वास्थ्यमा गडबडी भएको रहेछ । उनले मलाई आउनेबित्तिकै तिमीलाई गाह्रो भएन भन्दै प्रश्न गरिन् । मैले म मर्न लागें भन्दै भुइँमा थचक्क बसें । अन्य पाइलटले गाह्रो भएको हो भन्दै सोधे र हट लेमन ल्याएर दिए ।

पाइलटले उडान सकिसकेपछि पनि गाह्रो भयो हो भन्दै सोध्दै हुनुहुन्थ्यो । ‘प्यारागलाइडिङको मज्जा लिएर गाह्रो हुँदा केही हुन्न,’ मैले जवाफ दिएँ ।

त्यसपछि ल्यान्डिङ ग्राउन्डमा बसेर पाइलटसँग प्याराग्लाइडिङबारे जानकारी लियौं । उनले उडानका बेला गरेको दुर्घटनाको प्रश्नको पनि जवाफ दिए । उनका अनुसार प्याराग्लाइडिङ निकै साहसिक खेल भएकाले मौसमअनुसार गर्नुपर्छ । मौसमको कारणले भन्दा प्राविधिक त्रुटीका कारण दुर्घटना हुने उनले बताए । तथापि प्याराग्लाइडिङमा कम जोखिम रहेको उनले जानकारी गराए ।

साथी र मैले मौसमले साथ दिएका कारण सहजै प्याराग्लाइडिङ गर्ने मौका पायौं । तर, पहिलो चरणमा तीन जनाले गर्ने भनिए पनि एक जना साथीको भने हावाको बेग नमिल्दा पाँच पटकको प्रयासमा मात्रै उडान भएको थाहा पाएँ । त्यसपछि हाम्रो पालो सकेपछि दोस्रो चरणमा अन्य दुई जना पुरुष साथीको पालो थियो ।

तर, साथीहरुको भने प्याराग्लाइडिङ गर्न निकै समय लाग्यो । हावाको बेग नमिलेका कारण दोस्रो चरणको उडान भने २ बजेपछि मात्रै भयो । ‘प्याराग्लाइडिङमा दक्षिणदेखि उत्तरतर्फ हावा बहेको हुनुपर्छ । त्यसबेला मात्रै उडान गर्न सहज हुन्छ,’ पाइलट गुरुङले भने, ‘दिउँसो आज हावाको बेग नमिल्दा साथीहरुको उडान नै झण्डै रोकिएको थियो ।’ तर, लामो समयको पर्खाइपछि २ बजेतिर साथीहरुको उडान भयो ।

देशभर विभिन्न स्थानमा प्याराग्लाइडिङको सेवा दिँदै आएको र स्याङ्जामा प्याराग्लाइडिङ स्कुल स्थापना गरेको बाबु एड्भेन्चर्सले उपत्यकाबासीका लागि साहसिक खेल सुरु गरेको एक महिना भयो । कम्पनीका अनुसार हालसम्ममा ५० जनाभन्दा बढीले प्यारागलाइडिङ गरिसकेका छन् ।

बाबु एड्भेन्चर्सले २०० किलोमिटर टाढा रहेको पोखरामा उपत्यकाबाट ३-४ दिनमा योजना बनाएर जानुपर्ने बाध्यता छ । त्यसैले, कम्पनीले अध्ययन २ वर्ष र अन्य कार्य गर्न ४ वर्ष गरी ६ वर्षको मेहनतपछि साहसिक खेल सञ्चालनमा ल्याएको एड्भेन्चर्सका अध्यक्ष सानोबाबु सुनुवार बताउँछन् । उनका अनुसार नेपालीहरुले साहसिक खेलमा बढी रुची राखेकाले उपत्यकाका लागि प्याराग्लाइडिङको सुविधा दिएर अन्य ठाउँमा पनि प्रोत्साहन हुनेछ ।

उपत्यकाबासीले अब एक दिनको योजना बनाएर सहजै प्याराग्लाइडिङ खेल खेल्न पाउनेछन् । भर्खरै खेलको सेवा दिन सुरु गरेकाले आगामी दिनमा चन्द्रगिरीको प्याराग्लाइडिङ निकै फस्टाउने उनको विश्वास छ । अहिले कम्पनीले स्वदेशी र विदेशीका लागि प्याराग्लाइडिङको एउटै दर तोकेको छ । कम्पनीले प्रतिव्यक्ति ८ हजार शुल्क लाग्ने जनाएको छ । कम्पनीले बिहान ८ बजेदेखि ५ बजेसम्म उक्त सेवा प्रदान गर्नेछ ।


अरिष्मा मोक्तान