पाइलटको अराजकता बढ्यो, १० महिनामा २० भन्दा बढी पाइलट कारवाहीमा



काठमाडौं । सबैभन्दा बढी सुरक्षित यातायात सेवा मानिने आकास मार्गलाई पाइलटको हेलचेक्राइँका कारण उडान सुरक्षा चुनौती बढ्दै गएको छ । पाइलटको अराजकता बढ्दै गएका कारण प्राधिकरणले गर्ने कारवाही पनि बढ्दै गएको छ । प्राधिकरणका अनुुसार पछिल्लो १० महिनामा २० जनाभन्दा बढी पाइलट कारवाहीमा परिसकेका छन् ।

पाइलटले जानीजानी गर्ने र अन्जानबस गर्ने गल्तीका कारण उड्डयन क्षेत्र असुरक्षित भएको भन्दै हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले बर्षेनी कठोर नीति अवलम्बन गर्ने गरेको छ । प्राधिकरणले जहाज उडाउने पाइलटलाई उडानमा रोक लगाउने, लाइसेन्स नै निलम्बन गर्नेेसहितको विभिन्नि प्रकारको कारवाही पनि गर्ने गरेको छ ।

शुक्रबार बिहान रामेछाप विमानस्थलमा एउटै एयरलाइन्सका दुई पाइलटबीच भएको कुटाकुटको घटना हवाई उड्डयनकै लागि लज्जास्पद भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनले भने ‘दुई पाइलटबीच कुटाकुट गर्ने अनि तुरुन्तै जहाज उडाएको घटना झन गम्भीर हो । एकातर्फ पाइलट तनावमा हुन्छ भने अर्कोतर्फ उडानमा ध्यान नहुँदा गम्भीर प्रकृतिको दुर्घटना हुन पनि सक्छ ।’

भुलले भने, ‘लडाईंमा गएको सिपाहीलाई इमोसनल्ली डाइभर्ट गर्नु र तनाबबीच पनि पाइलटलाई उडान गर्न दिनु जत्तिको खराब काम अरु हुनै सक्दैन ।’

प्राधिकरणले जति जति नियमनको दायरा बढाउँदै लग्यो उति उति गम्भीर प्रकृतिका घटना हुने र पाइलट कारवाहीमा पर्ने क्रम पनि बढीरहेको छ । प्राधिकरणले सन् २०२३ को पछिल्लो १० महिनामा उडानमा स्टन्ट गर्ने, हार्ड ल्याण्डिङ, ककपिटको दुरुपयोग, हवाई उडानको नीति नियम विपरित काम गर्ने गरेका कारण कारवाही गरिसकेको छ ।

प्राधिकरणका अनुसार यस्तो कारवाही पछिल्लो ५ वर्षमै ४५ जनाभन्दा बढीलार्ई भइसकेको छ ।

प्राधिकरणका अनुसार सन् २०२२ मा १० जनालाई गरिएको थियो भने सन् २०२१ मा ६ जनालाई, सन् २०२० मा ७ जनालाई र सन् २०१९ मा ८ जनालाई कारवाही गरिएको थियो ।

प्राधिकरणले पछिल्लो समय उडानसम्बन्धि नियम कानुनलाई जति धेरै कडाइका साथ पालना गर्न लगायो उति धेरै घटना बढीरहेको देखिएको छ । ‘हिजोका दिनमा नियम कानुन केही नहुँदा पाइलटबाट कमीकमजोरी पनि कम हुन्थ्यो भने अहिले जति कडाइ गर्यो, कमजोरी पनि त्यति नै बढीरहेको देखिएको छ । पाइलटका पछिल्लो गतिविधिले हिजोका दिनमा गल्ती गर्न छुट थियो भनेर बुझने हो भने अहिले झन् कमी कमजोर गर्दै हिँडको जस्तो पो भएको छ’, प्राधिकरणका सूचना अधिकारी भुलले भने ।

प्राधिकरणको लक्ष्य हवाई दुर्घटना शून्य बनाउनु हो भने उडान सुरक्षालाई भरपर्र्दाे र विश्वसनीय बनाउनु हो । तर, पछिल्लो समय भइरहेका सबै घटनामा पाइलट मात्र जिम्मेवार नभएको भएपनि गल्ती गर्नेलाई कारवाही नगरी छोड्न नमिल्ने र कारवाही गर्दै जाँदाको तथ्यांक भने लज्जाकै विषय हुने गरी बढिरहनु विडम्बना भएको प्राधिकरणका सूचना अधिकारी बताउँछन् ।
हवाई सुरक्षामा लापरवाही गर्ने पाइलटहरूलाई नागरिक उड्यन नियमावली, २०५८ बमोजिम कारवाही हुने गरेको छ ।

नियमावलीविपरीत काम गरेको पाइएपछि ती पाइलटहरूलाई प्राधिकरणले कारवाही गर्ने गरेको छ । यस्तो कारवाहीमा गल्ती हेरेर कसैलाई ग्राउन्ड गर्ने त कसैलाई जरिवाना त कसैलाई सचेत मात्रै पनि गर्ने गरिएको भुलले बताए । भुलका अनुसार केहीलाई भने रिफ्रेस क्लाससम्म लिन लगाउनुपरेको छ । कतिपयलाई सिमुलेसनअन्तर्गत भर्चुअल जहाज उडाउन समेत गर्न लगाएको भुलले स्मरण गरे ।

पाइलटहरूले गर्ने कसूरको गाम्भीर्यता हेरी प्राधिकरणले कारवाही गर्ने भएकोले हरेक पाइलटले गर्ने गल्ती, गल्तीको गाम्भीर्यता र प्रकृति अनुसार फरक फरक प्रकारको कारवाही भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले पाइलटलाई यस अघि १० हजारदेखि अधिकतम ३० हजार रुपैयाँसम्म नगद जरिवानासहितको कारवाही गरेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

पाइलटलाई हुने यस्तो कारवाहीमा तलबबाट सोधभर्ना गर्ने, ड्युटीबाट निश्चित समयका लागि अफ गर्ने, ड्युटी आवर कम गरिदिने, निश्चित पाइलटसँग निश्चित घण्टा उडान गरेपछि मात्र रिलिज गर्ने लगायतका कारवाही दैनिकजसो नै भइरहेका हुन्छन् ।


क्लिकमान्डु