सेयर बजारमा गिरावट, कारोबार रकम निरन्तर घट्दै
काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै ओरालो लागेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । यो दिन बजार घट्दा कारोबार रकम पनि खुम्चदै गएको छ ।
पछिल्लो समय दैनिक जसो बजार घटिरहेको छ । बजार मापन गर्ने सूचक १४.२९ अंकले घटेर परिसूचक १८६४.४० बिन्दुमा रोकिएको छ । २८६ कम्पनीको २२ लाख ५८ हजार १८७ कित्ता सेयर ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा राताम्मे भएका छन् । बैंकिङ समूहको ८.९१, विकास बैंक ३१.०१, वित्त १३.०८, होटल २५.५४, जलविद्युत १५.५१, जीवन बीमा १४३.३३, उत्पादन तथा प्रशोधन ३१.१३, माइक्रोफाइनान्स २९.७९, निर्जीबन बीमा ५८.४८, ट्रेडिङ समूहको उपसूचक ८.०८ अंकले घटेको छ ।
कारोबारमा माहुली लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेष्टमेन्ट, सीवाईसी नेपाल लघुवित्त, किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सोनापुर मिनरल्स एण्ड आयल, मेरो माइक्रोफाइनान्स, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, मेन्चियाम हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा सूर्यज्योती लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १ करोड ७० लाख ११ हजार ४८७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा स्टयान्डर्ड चार्टर्ड बैंक र नबिल बैंक रहेको छ ।