निजी क्षेत्रले सामूहिक लगानी कोष ल्याउँदै, अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्ला ?



काठमाडौं । अर्थतन्त्रमा निराशा छाएको बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षको अगुवाइमा नेपालभरका उद्योगी व्यापारीको सामूहिक लगानी कोष बन्ने भएको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ७७ वटै जिल्लाका उद्योगी व्यापारीहरुको लगानी हुने गरि सामूहिक लगानी कोष ल्याउन लागेको बताए ।

महासंघका अनुसार देशका ७७ वटा जिल्लामा १२० हाराहारी जिल्ला तथा नगर उद्योग वाणिज्य संघ छन् । प्रतिफलयुक्त आयोजनामा लगानी गर्ने उद्देश्यसहित ती सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा आबद्ध रहेका उद्योगी व्यापारीको सामूहिक लगानी कोष बनाउने ढकालले बताए ।

‘सामूहिक लगानी कोषको मोडालिटी बन्दै छ’, ढकालले भने, ‘७७ वटै जिल्लाका जिल्ला नगर उद्योग वाणिज्य संघमा आबद्ध उद्योगी व्यवसायीको संलग्नतामा सामूहिक लगानी कोष बनाएर प्रतिफलयुक्त आयोजनामा लगानी गर्ने हाम्रो योजना हो ।’

ढकाल २०७९ चैत ३० गते महासंघमा अध्यक्ष भएका हुन् । तर, उनी अध्यक्ष हुँदा नेपालको अर्थतन्त्रमा समस्या देखिइसकेको थियो । निवर्तमान अध्यक्ष शेखर गोल्छाको कार्यकालको करिब सुरुवातदेखि नै विश्वव्यापी महामारी कोरोनालगायत विविध समस्याका कारण नेपालको अर्थतन्त्रले लय गुमाउँदै गइरहेको थियो ।

जसका कारण निजी क्षेत्रको मनोबल इतिहासकै न्यून बिन्दुमा रहेका बेला महासंघको सामूहिक लगानी कोषले उद्यमी व्यवासायीको मनोबल बढाउने तथा निजी क्षेत्रको योगदान पनि देखिने ढकालको विचार छ ।

कोरोना महामारीपछि नेपालको अर्थतन्त्र उठ्न सकेन । वैश्विक महामारी कोरोनाका कारण नेपालमा २०७६ साल चैत ११ गतेदेखि बन्दाबन्दी गरिएको थियो । पटक पटकको बन्दाबन्दीका करण अर्थतन्त्र झन् झन् शिथिल बन्न पुगेको हो ।

कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको अर्थतन्त्र २.३७ प्रतिशतले नकारात्मक भएको थियो भने त्यसपछिको आव २०७७/७८ मा पनि ४.२५ प्रतिशत आर्थिक वृद्धिमात्र भएको थियो । जसका कारण आव २०७६/७७ को कोरोना महामारीपछि गत आव सम्ममा औसत् आर्थिक वृद्धिदर २.४७ प्रतिशतमात्र देखिन्छ ।

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर पनि विश्व बैकको प्रक्षेपणअनुसार ३.९ प्रतिशत हुने आशा छ भने एसियाली विकास बैंकले भने ४.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । तर, चालू आर्थिक वर्षमा बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक क्षेत्र चलायमान नहुँदा अर्थतन्त्र ४ प्रतिशतको हराहारीमा मात्र वृद्धि हुने देखिन्छ । जसका कारण निजी क्षेत्रको मनोबल इतिहासकै सबैभन्दा न्यून रहेको हो ।

यसरी अर्थतन्त्रमा ८१.५५ प्रतिशत योगदान दिएको निजी क्षेत्र, जसले रोजगारी सिर्जनामा पनि ८६.६७ प्रतिशत योगदान गरेको छ, पछिल्ला वर्षहरुमा आफनो कमजोर मनोबलका कारण लगानी एवं उद्योग व्यापार विस्तारमा उदासिन रहेको छ । नेपाल उद्योग परिसंघको तथ्यांकअनुसार पनि उद्योगहरु आफनो पूर्ण क्षमतामा संचालन हुन सकिहेका छैनन् ।

उद्योगहरु कोरोनापूर्वको अवस्था अझै संचालन हुन नसक्नुमा बजारमा माग बढ्न नसक्नु प्रमुख कारण हो । तर, बजारमा माग बढाउन तथा कारोबारमा सहजीकरण गर्न सरकार अससफल भएको छ ।

त्यसैले पनि सामूहिक लगानी कोषले उदासिन तथा कमजोर मनोबल भएको निजी क्षेत्रलाई उत्साहित बनाउन मद्दत गर्ने ढकालको आशा छ ।

मुलुक संघीय गणतन्त्रमा रुपान्तरित भएपछि राजनीतिक स्थिरता आएको मानिए पनि सरकारका नीतिगत अस्थिरता तथा दीशाहिनताका कारण निजी क्षेत्रको मनोबल उठ्न सकेको छैन ।

जसका कारण उद्योगको संचालन क्षमतामा न्यूनीकरण एवं स्वदेशी तथा विदेशी लगानी पनि खासै उत्साहप्रद अवस्था नभएका कारण निजी क्षेत्रमा निराशा ब्याप्त छ । १० मध्ये ९ रोजगारी प्रदान गर्ने निजी क्षेत्रमा आएको संकुचनले मुलुकमा रोजगारी नपाएर युवा पलायन बढ्दो छ ।

सरकारले निजी क्षेत्रको कुरा नसुन्ने तर राजनीतिक फाइदामात्र हेर्ने गरेको कारण पनि अर्थतन्त्रमा इतिहासकै निराशा छाएको अर्थविद्हरु बताउँछन् । त्यसैले महासंघले निजी क्षेत्रको मनोबल बढाउन सामूहिक लगानी कोषको अवधारणा ल्याएको पनि ढकालको दाबी छ ।


कुबेर चालिसे