कृषि मन्त्रीको निर्देशन: बैंकसँग सहुलियत ऋण लिएर भए पनि किसानलाई दुधको पैसा देऊ



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले किसानलाई दुध वापतको रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डको शुक्रबार बसेको बैठकले दुध खरिद गरेवापत भुक्तानी दिन बाँकी रहेको रकम चाडपर्व अघि उपलब्ध गराउन मन्त्री भुसालले निर्देशन दिएका हुन् ।

बोर्डको अध्यक्षसमेत रहेका मन्त्री भुसालले चाडवाडको मुखमा किसानलाई बिचल्ली नपार्न दुग्ध विकास संस्थान(डीडीसी) र निजी क्षेत्रका डेरी उद्योगलाई निर्देशन दिएका हुन् ।

किसानले दुधको भुक्तानी नपाएको विषयमा क्लिकमान्डुले समाचार सम्प्रेषण गरेको थियो । दुग्ध विकास संस्थान (डीडीसी) सहित निजी क्षेत्रका डेरी उद्योगले जेठदेखि दुध खरिद गरेवापत किसानलाई रकम भुक्तानी गरेको छैन ।

डीडीसी र निजी डेरीले असोज १५ गतेसम्ममा करिब ६ अर्बको हाराहारीमा दुध खरिद गरेवापत किसानलाई भुक्तानी गर्न बाँकी छ ।

क्लिकमान्डुले बुधबार समाचार सम्प्रेषण गरेपछि किसानले दुधको भुक्तानी नपाएको विषयमा बिहीबार संसदमा प्रश्न उठेको थियो । त्यसपछि मन्त्री भुसालले किसानको रकम भुक्तानी गर्न निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्री भुसालले रकम नभएको बहानामा किसानको भुक्तानी रोक्न नमिल्ने बताए । बैठकमा सहभागी एक सदस्यले भने, ‘किसानलाई दुधको भुक्तानी दिन रकमको अभाव छ भने बैंकसँग सहुलियत दरमा ऋण उपलब्ध गराइदिन आफूले पहल गरिदिने उहाँले बाचा गर्नुभएको छ ।’

मन्त्री भुसालले बजारमा बिक्री नभएर डीडीसी र निजी क्षेत्रसँग ठूलो परिमाणमा स्टक भएर बसेको मख्खन र पाउडर(धुलो) दुधलाई धितो राखेर पनि बैंकबाट सहुलियत दरमा ऋण लिएर किसानलाई भुक्तानी उपलब्ध गराउन उनले निर्देशन दिएका हुन्।

मख्खन र धुलो दुधलाई धितो मानेर ऋण उपलब्ध गराइदिन आवश्यक पहल आफूले गरिदिने मन्त्री भुसालले प्रतिवद्धता जनाएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिएका छन् ।

बैठकले बजारमा बिक्री नभएर डीडीसी र निजी क्षेत्रका डेरीसँग ठूलो परिमाणमा भण्डारण भएर बसेको पाउडर दूध र वटर(मख्खन) को हकमा चाडवाड लक्षित योजना बनाएर मूल्य घटाएर बिक्री गर्ने निर्णय गरेको छ ।

यसबापत प्राप्त हुने रकम दुध किसानलाई वक्यौंता रकम उपलब्ध गराउने निर्णय भएको छ । यो हुन नसके सरकारी बैंकहरुसँग उक्त पाउडर दूध र मख्खनको बजार मूल्यको आधारमा धितो राखेर सहुलियत दरमा ऋण लिएर किसानलाई भुक्तानी उपलब्ध गराउने निर्णय भएको छ ।

डीडीसी र निजी क्षेत्रका डेरीमा गरी अहिले २ अर्ब ८० करोड रुपैयाँबराबरको ४ लाख ३० हजार ४ सय टन पाउडर दुध मौज्दात छ । यस्तै १० अर्ब रुपैयाँबराबरको ६ लाख टन मख्खन मौज्दात छ । मख्खनको बजार मूल्य प्रतिकिलो १ हजार ५० रुपैयाँ छ । यसैगरी २५ किलोको पाउडर दुधको एक व्यागको मूल्य १० हजार ५ सय रुपैयाँ छ ।

बदलिँदो परिवेशअनुसार नयाँ दुग्ध नीति ल्याउने बिषयमा बोर्डले निर्णय गरेको छ । नयाँ दुग्ध नीति ल्याउने विषयमा राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवको अध्यक्षतामा ९ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ । समितिलाई १५ दिनभित्रमा प्रारम्भिक मस्यौंदा तयार गर्न समयअवधि दिइएको छ ।

६४ जिल्लाका किसानबाट दुध खरिद गरेका डीडीसी र निजी क्षेत्रले ४ महिनादेखि भुक्तानी दिएका छैनन् ।

सबैभन्दा बढी सप्तरी, मकवानपुर, चितवन, काभ्रे, धनकुटा, बुटवल, बाग्लुङलगायतका जिल्लाका किसानलाई भुक्तानी गर्न बाँकी छ । यी जिल्लाहरुबाट दुध ठूलो परिमाणमा संकलन हुन्छ ।


क्लिकमान्डु