६० वर्षदेखिको बेरुजु फर्छ्यौट हुन बाँकीः महालेखा परीक्षक



काठमाडौं । नेपालमा ६० वर्षअघि देखिको बजेटको बेरुजु फर्छ्यौट हुन बाँकी रहेको खुलासा भएको छ । कार्यवहाक महालेखा परीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम शुरु गरेको उल्लेख गर्दै सोही बेलादेखिको बेरुजु फस्र्यौट बाँकी रहेको बताएका हुन् ।

आइतवार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आन्तरिक लेखा परीक्षणमा नै सबै बेरुजु फस्र्याैट हुनुपर्नेमा वर्षौंदेखि सो काम नहुनु मुलुकको निम्ति भयावह अवस्था भएको पनि स्मरण गराए ।

महालेखा परीक्षकको कार्यालयले हाल नौ खर्ब बेरुजु देखाएको उल्लेख गर्दै उहाँले त्यो वर्षाैं देखिको रहेको समेत बताए । कार्यवहाक महालेखा परीक्षक काफ्लेले जिम्मेवार निकायको गैरजिम्मेवारपूर्ण गतिविधिका कारण मुलुकमा बेरुजुको अवस्था भयावह बन्दै गएको पनि बताए ।

कार्यवहाक महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयमा अडिट गर्ने जनशक्तिको अभाव रहेको बताए । देशभरका कार्यालयहरुको अर्डिट गर्नका लागि करिव ४ सय जतिमात्रै जनशक्ति रहेकाले आफूहरुले रिस्क बेसिस अर्डिटको काम मात्रै गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

उनको भनाइ

जिम्मेवारहरुले आफ्नो जिम्मेवारी पूरा नगरेका कारण देशको अवस्था भयावह छ । देशको बजेट १५/१६ खर्ब रुपैयाँ हुन्छ । नौं खर्व त बेरुजु नै छ । कारबाही गरेर टुंगो लगाउनुपर्ने बेरुजु नौ खर्व छ । झण्डै ६०/७० पर्सेन्ट बेरुजु छ । र, त्यो बेरुजुमा हे¥यो भने २० साल देखिको बेरुजु पनि बाँकि नै छ । महालेखा परीक्षकले पहिलो वर्ष २०२० सालमा हो प्रतिवेदन पेस गरेको हो । त्यही बेलादेखिको बेरुजु अहिलेसम्म फस्र्यौट भएको छैन । हाम्रो ऐन, नियमले के भन्छ- लेखा परीक्षण गरेर प्रतिवेदन उपलब्ध गराएको हाम्रो आन्तरिक लेखा परीक्षण गर्नुपर्छ भन्ने छ । अनि, त्यो भन्दा अघि लेखांकन । यो गर्ने ऐन, नियम, विधि र पद्धतिहरु छन् । त्यसैको आधारमा आन्तरिक लेखा परीक्षण हुन्छ । आन्तरिक लेखा परीक्षणले सबै प्रक्रिया नपुगेका अथवा अनियमित भएका अथवा बढी असुल भएका विषयहरु पहिचान गरेर प्रतिवेदन दिन्छ । त्यो आन्तरिक लेखा परीक्षणको कार्यान्वयन अन्तिम लेखा परीक्षण हुनुभन्दा अगाडि सबै राफसाफ गरिसक्नु पर्छ । अन्तिम लेखा परीक्षण गर्नुअघि आन्तरिक लेखा परीक्षणले देखाएका सबै बेरुजु फस्र्यौट गरिसक्नु पर्छ । भनेपछि फाईनल लेखा परीक्षणमा बेरुजु शुन्य हुनुपर्ने हो । एउटा पक्ष । अर्को पक्ष जुन बेसमा, जुन बेसिसमा एकाउन्ट राखिन्छ, त्यही बेसमा लेखा परीक्षण हुन्छ । आन्तरिक लेखा परीक्षणको आधारमा नै सबै बेरुजु फस्र्यौट हुनुपर्ने हो । त्यसमा भएन भने पनि अन्तिम लेखा परीक्षण भएपछि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले के भनेको छ भने-सबै श्रेस्ता, कारोबार परीक्षण गरेर कैफियत दिएका छौं । यो कैफियत ३५ दिनभित्र सम्पूर्ण राफसाफ गरेर पेस गर्नु भनेर हामीले आर्थिक कार्यविधि ऐन अनुसार दिन्छौं । आन्तरिक लेखा परीक्षणमा पहिलो अवसर पायो । दोस्रो, फाईनल अन्तिम लेखा परीक्षण गर्नुअघि मौका थियो । त्यसपछि नै ३५ दिनभित्र बेरुजु फर्छ्यौट गरिसक्ने अवसर छ । यति गर्दा पनि उसले चाहीँ फर्छ्यौट गर्दैन ।


क्लिकमान्डु