अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित उद्यमशील युवा, श्रृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना भाइरस र अन्य वाह्य कारणले नेपालको अर्थतन्त्र धराशायी बने पनि अहिले बिस्तारै लयमा फर्किएको दाबी गरे ।

अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको उनको भनाइ छ ।

अहिले देशभर नकारात्मक विचारहरु बढी प्रचार हुँदा परिणाम सकारात्मक नदेखिएको उनको भनाइ छ ।

नेपालको अर्थतन्त्र संकटमा रहेको भन्दै विदेश जानुको विकल्प छैन भन्नेजस्ता प्रचारबाजी भएकाले अर्थतन्त्रमा समस्या उत्पन्न भएको उनको भनाइ छ । नेपालमा केही छैन र अर्थतन्त्र संकटमा छ भन्ने जस्ता नकारात्मक विचार त्यागेर सकारात्मक उर्जा प्रदान गर्नुपर्ने महतले बताए ।

मन्त्री महतले नेपालको पर्यटन, जलविद्युत र कृषिमा लगानी गर्न बिस्तारै विदेशी लगानीकर्ताहरु बढ्न थालेको बताए ।

नेपालमा भएका अवसरलाई युवा पुस्ताले खोज्नुपर्ने बताउँदै उनले नेपालमै अवसर खोज्ने हो विदेशको भन्दा राम्रो वातावरण भएको बताए ।
‘अब बिस्तारै हाम्रो इकोनोमीले लय पक्रँदै छ । हिजो कोभिड थियो, वाह्य अरु पनि समस्याहरु थिए । बिस्तारै त्यो हट्यो । लय पक्रिँदै छ,’ अर्थमन्त्री महतले भने, ‘अब एउटा पोजेटिभ डिस्कोर्स शुरु गर्दैछौँ । हामीले नेगेटिभ मात्रै कुरा गर्‍यौँ भने नेगेटिभ नै परिणाम आउँछ । हामीले अहिलेसम्म नेगेटिभ डिस्कोर्स शुरु गरेका छौँ । नेपालमा केही छैन, सबै बिग्रिएको छ, इकोनोमी पनि ठिक छैन, रोजगारी पनि पाइँदैन, अब विदेश जानुको विकल्प छैन भनेर सबैले नेगेटिभ कुरा गरे ।’

अर्थमन्त्री महतले विदेश जानेबित्तिकै सबै चिज प्राप्त हुन्छ भन्ने मानसिकताबाट युवाहरु मुक्त हुनुपर्ने बताए ।
विकसित मुलुकमा भन्दा नेपालमा धेरै अवसरहरु भएकाले उद्यमशीलताको नेतृत्व युवाले गर्नुपर्ने उनले बताए ।


क्लिकमान्डु