व्यवसाय बन्द गर्ने गरी करदातालाई दु:ख नदिन अर्थ सचिवको निर्देशन



काठमाडौं । अर्थसचिव अर्जनुप्रसाद पोखरेलले करदातालाई सम्मान गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा अर्थसचिव पोखरेलले व्यवसाय बन्द गर्ने गरी करदातालाई अप्ठ्यारो पार्ने काम नगर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

‘व्यवसाय विस्तार भएन भने राजस्व संकलन बढ्दैन्,’ अर्थसचिव पोखरेलले भने- ‘तपाईंहरुको काम करदातालाई दुःख दिने होइन्, तपाईंहरुले करदातालाई सहजीकरण गर्नु पर्छ ।’

पोखरेलले लक्ष्यअनुसार राजस्व संकलन गर्न सक्दा मात्रै व्यवस्थापन गोष्ठी सफल हुने बताए ।

‘विश्वमा कर प्रणाली कसरी विकास भएको छ, हाम्रो कानूनमा के समस्या छ भन्ने विषयमा छलफल गर्दै राजस्व गर्नु पर्ने नीतिगत सुधारको विषयमा ठोस रणनीति तय गर्नु होला,’ पोखरेलले भने- ‘प्रणालीगत सुधार कहाँ गर्ने, लक्ष्यअनुसार राजस्व संकलन गर्न कार्ययोजना बनाउने गरी छलफल गर्नु होला । मन्त्रालयलाई नीतिगत सुधारका लागि इनपुट दिन सक्ने गरी छलफल गर्दै ठोस सुझाव दिनु होला ।’

कार्यक्रममा अर्थसचिव पोखरेलले कस्ट अफ कलेक्सेन घटाउने गरी विभागले काम गर्नु पर्ने धारणा राखे ।

महालेखा परीक्षण कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझाव, राजस्व न्यायाधीकरणले गरेका फैसला लगायत विषय हेर्दै गोष्ठीमा छलफल गर्न पोखरेलले निर्देशन दिए ।


क्लिकमान्डु