रोजगारीका लागि विदेश जाने श्रमिकले वैदेशिक रोजगार बोर्डबाट पाउने सुविधा बढाउँदै सरकार
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिक विदेशमा नै मृत्यु वा अंगभंग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई २०६७ सालमा दिने सुविधा अहिले समयानकूल नभएको भन्दै वृद्धि गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले जानकारी दिए ।
वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रम उनले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पुर्याउने तयारी रहेको बताए ।
मृतकको सन्ततीलाई प्रदान गरिने शैक्षिक छात्रवृत्ति ८ लाख र १२ लाख प्रतिवर्ष रहेकामा १२ लाख ५ हजार र १६ लाख ५ हजार प्रतिवर्ष बनाउने निर्णय भएको पनि जानकारी गराए । अवैधानिक रुपमा वैदेशिक रोजगारीमा गएर विदेशमा मुत्यु हुनेहरुले पाउने २५ हजारलाई पनि उल्लेख्य बनाउने योजना सरकारको रहेको उनले जनाए ।
‘त्यसलाई नियममा संशोधन गर्नुपर्ने भएकाले संशोधनका लागि मन्त्रिपरिषद्मा लैजान तयारी भइरहेको छ,’ उनले भने ।
वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले फ्रि भिसा फ्रि टिकटको मापदण्डलाई व्यवस्थित गर्ने बताए । उनले व्यवसायीबाट वैदेशिक रोजगारीमा जाने श्रमिक ठगी गर्नेलाई तत्काल कारबाही गरी कानुनी कठघरामा उभ्याउने बताए ।