सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्छ: अर्थमन्त्री



वीरगन्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताएका हुन् ।

‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं’ उनले भने ।

आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वभाविक भएको र त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए । तर, बजारमा प्रशस्त माल बस्तु छ, तर राजस्व घटिरहेको छ भने त्यस्तोबेलामा प्रश्न उठने उनको भनाइ थियो ।

‘त्यो अवस्थामा तपाईंहरुलाई प्रश्न गर्नेछन् । हामीले यथेष्ट काम गरेनौं, हामी जिम्मेवार भएनौं, हामीले आँखा चिम्ल्यौं अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्व दिएऔं भने राजस्व कम उठ्छ ’ उनले भने ।

‘दोस्रो यहाँ हामी अनावश्यक झन्झट दिन्छौं, जायज कुरालाई पनि यो भएन भन्छौं, अरु खाले माग गरिराख्यौं भने यो झन्झट व्यहोर्नुभन्दा व्यवसायीले जोखिम मोलेरै भए पनि अर्को बाटो रोज्छौं’ मन्त्री डा. महतले भने, ‘त्यो अवस्थामा प्रहरी प्रशासनको भूमिका रहन्छ ।’

जायज कुरालाई नजायज बनाउने, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने व्यवसायीले अर्को बाटो रोज्ने उनको भनाइ छ ।

सुक्खा बन्दरगाहमा ठूलो मेसिन आए पनि त्यो उपयोगमा नआएको र त्यसको कारण कसैलाई थाहा नभएको भन्दै उनले भने ‘किन प्रयोगमा आएन कसैलाई थाहा छैन । अरुले सहयोग नै गर्न चाहेनन् । यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो । प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो । त्यसलाई ग्रहण गर्नुपर्छ, त्यसलाई अपग्रेट गर्न रिर्सोसको कमी हुँदैन, तर तपाईंहरुले सहयोग गर्नुपर्छ ।’

मन्त्री डा. महतले कर्मचारीले फाइदा उठाउन नभइ काम गर्न आएको कुरालाई मनन गरे राजस्वले लक्ष्य भेट्ने बताए ‘म काम गर्न आएको हो, फाइदा उठाउन होइन । फाइदा मलाई सरकारले दिएको छ भन्ने कुरो मनन गर्नुभयो भने राजस्वले लक्ष्य भेट्ने छ’ उनले भने ।

राजस्वको लक्ष्य के छ ? गत वर्ष कस्तो प्रगति भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन ? कार्यालयको योजना के छ ? यसको समाधान गर्ने बाटो के हुनसक्छ ? मन्त्रालयसँग के अपेक्षा छ ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्री डा. महतले बताए ।

आय स्रोतको ८० प्रतिशतभन्दा बढी राजस्वबाट प्राप्त भन्दै उनले ८० प्रतिशतभन्दा बढी राजस्व भन्सार आन्तरिक राजस्वबाट उठाउनुपर्ने बताए ।

राजस्वको लक्ष्य प्राप्त गर्नका लागि धेरै ठूलो जिम्मेवारी यी दुई भन्सार कार्यालयको रहेको उनले बताए ।

‘सुक्खा बन्दगाहमा के भइरहेको छ ? वीरगञ्ज भन्सार कार्यालयमा के भइरहेको छ ? सबैले हेरिरहेका हुन्छन् । त्यहाँ त लक्ष्य प्राप्ति भएको छैन, हामीलाई मात्रै भन्ने ? वीरगञ्जमा हुनुपर्यो नि, सुक्खा बन्दगाहमा हुनुपर्यो ? भनेर तपाईंहरुलाई भन्ने छन्’ मन्त्री डा. महतले भन्नुभयो, ‘त्यसकारण तपाईंहरु सजक रहनुहोस्’ उनले भने ।


क्लिकमान्डु