सामाजिक सुरक्षा कोषमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
काठमाडौं । सामाजिक सुरक्षा कोषले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । तत्कालीन कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको साउन १५ गते कार्यकाल सकिएपछि कोषले रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।
सामाजिक सुरक्षा कोषमा कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिँदै आएको छ । तत्कालीन कार्यकारी निर्देशक ज्ञवाली पनि खुला प्रतिस्पर्धाबाटै छनोट भएका थिए ।
कार्यकारी निर्देशकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, नियमावली २०७५ र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको छनोट, पारिश्रमिक, सुविधा तथा सेवाको सर्तसम्बन्धी नियमावली २०७६ बमोजिम शैक्षिक षेग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्य शास्त्र वा कानुनमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सरकारी वा गैरसरकारी संघसंस्था या प्रचलित कानुन बमोजिम स्थापित कम्पनी वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा १५ वर्ष कार्यानुभव भएको र ५५ वर्ष ननाघेको व्यक्तिले कोषको कार्यकारी निर्देशकमा आवेदन दिन सक्नेछन् ।