गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघ्यो, सुन तस्करको पूरा अनुसन्धान नभएसम्म छोड्दैनौँः ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्रीले गैरजिम्मेवार र बत्तमिजी भएको टिप्पणी गरे । उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताए ।

विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ की छैन भन्दै ओलीले प्रश्न गरे । गृहमन्त्रीलाई गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न ओलीले चेतावनी दिए । कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भनेर गृहमन्त्रायल मुद्दा हाल्न जानु कति न्यायसंगत हुन्छ भन्दै उनले प्रश्न गरे ।

‘क्वीन्टलका क्वीन्टल सुन बाहिर जान्छ, गृहमन्त्री टारको गालामा गएर काँक्रोको बियाँ अर्काको गालामा टाँस्नुहुन्छ । यो अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैर जिम्मेवार, आफू गृहमन्त्री भएर यसको भएपनि उसको भएपनि यस्ता खालका गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? गृहमन्त्रीले बताउनुपर्छ, उहाँको संलग्नता छ की छैन ? सानो तिनो संलग्नताबाट त यो काम भएको छैन होला, उहाँको चाहीँ संलग्नता भएको छ की छैन ? छैन भने कसको संलग्नता छ, को छ यसमा ?’ ओलीले प्रश्न गरे ।

एक सञ्चारमाध्यमले उक्त सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेकोप्रति ओलीले आपत्ति जनाए । नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिएकोप्रति उनको आपत्ति थियो । अनियमितता गर्नेहरुलाई अब छुट नहुने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्‍‍याइकन एमालेले नछोड्ने बताए । सुन बोक्ने भन्दापनि बोक्न लगाउनेहरुलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने उनको भनाइ थियो ।


क्लिकमान्डु