कुमारी बैंकको ४५ करोड ऋण नतिरेपछि कांग्रेस सांसद कार्कीलाई कालोसूचीमा राख्ने तयारी
काठमाडौं । कुमारी बैंकले नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्कीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । तत्कालीन एनसीसी बैंकबाट लिएको ४५ करोड रुपैयाँ ऋण नतिरेपछि बैंकले कार्कीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।
सांसद कार्की कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं सांसद आरजु राणासँग निकट मानिन्छन् । राणाकै निकटताका कारण उनले नवलपुर २ बाट टिकट पाएका थिए ।
सांसद कार्कीले शक्तिका आडमा १ वर्षदेखि बैंकबाट लिएको ऋणको साँवा ब्याज नतिरेको आरोप लागिरहेको छ ।
कार्की सञ्चालक रहेको मनकामना इँटा उद्योगले १ वर्षदेखि साँवा ब्याज भुक्तानी गरेको छैन । पटक-पटक लिखित एवं मौखिम सूचना गरी ताकेता गर्दासमेत नतिरेपछि १५ दिने सूचना प्रकाशित गरिएको कुमारी बैंकले जनाएको छ ।