मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट आजै पारित गर्न सबै दल सहमत
काठमाडौँ । प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित गर्न सबै दल सहमत भएका छन् । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा मिटरब्याजसम्बन्धी विधेयक पारित गर्न संसदमा प्रतिनिधित्व गर्ने सबे राजनीतिक दलका सांसद सहमत भएका हुन् ।
दलहरुसँग सहमति जुटिसकेकाले मिटरब्याजसम्बन्धी विधेयक आजकै बैठकबाट पारित हुने सांसद एवं कार्यव्यवस्था समितिका सदस्य मेटमणि चौधरीले जानकारी दिए ।
सरकारले यसअघि मिटरब्याजसम्बन्धी अध्यादेश ल्याएको थियो । तर, उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक असार २० मा पारित गरिसक्नुपर्नेमा संसद् अवरोधका कारण निष्क्रिय भएको थियो ।
दलहरुबीच भएको सहमतिअनुसार संशोधनहरूमाथि दफावार छलफल सदनमा हुनेछ । त्यसपछि प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।
प्रतिनिधिसभाको बैठक आइतबार १ बजेका लागि बोलाइए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकका केहीबेरअघि मात्र सुरु भएको छ ।