राष्ट्र बैंकले हस्तक्षेप नगरेको भए आधार दर १८ प्रतिशत पुग्ने थियो : डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकले सजकतापूर्वक खुकुलो र आवश्यकताअनुसार कसिलो नीति लिएको डेपुटी गभर्नर बमबहादुर मिश्रले बताएका छन् ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकले समयमै हस्तक्षेप गरेकाले बाह्य क्षेत्रमा सुधार भएको बताए ।
`राष्ट्र बैंकले हस्तक्षेप नगरेको भए आधार दर १८ प्रतिशत पुग्थ्यो,´ उनले भने, `बजारमा अवस्था सहज हुँदै गएको पनि राष्ट्र बैंकले लचिलो नीति लिएर हो । आगामी दिनमा पनि सरकारले ल्याउने वित्त नीतिअनुसार केन्द्रीय बैंकले मौद्रिक नीति लिनेछ ।´
केन्द्रीय बैंकले आधार दर घटेअनुसार ब्याजदर घटाउन निर्देशन दिएको उनले बताए । ‘आगामी दिनमा क्रमश: ब्याजदर घट्दै जान्छ,’ उनले भने, `जंगलमा आगो लाग्यो भने सबै अफ्ठ्यारोमा पर्छौं, अत्यधिक कर्जा लिएकाले केही क्षेत्रमा समस्या देखिएको हो । त्यसैले हामी सबैले जिम्मेवार भएर काम गर्नुपर्छ।´