लक्ष्मी बैंकको नाफा ४७.३१% ले बढ्दा अन्य सूचकमा कस्तो छ सुधार ?
काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
चालु आवको नौ महिनामा बैंकको नाफा ४७.३१ प्रतिशतले बढेर १ अर्ब २६ करोड ५३ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ८५ करोड ८९ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएको छ । जसले गर्दा बैंकको नाफा बढ्न सहयोग गरेको छ । गत आवको चैत मसान्तमा २ अर्ब ५५ करोड ५८ लाख १८ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा बढेर ४ अर्ब १९ करोड ३२ लाख ४७ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा पनि १ अर्ब २६ करोड ६७ लाख ८३ हजार रुपैयाँ रहेको थियो । चालु आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ९९ करोड ६५ लाख १४ हजार रुपैयाँ रहेको छ ।
नौ महिनामा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३३ करोड ५८ लाख ७५ हजार रुपैयाँ रहेको छ । ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १७ करोड ३१ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
१ खर्ब ५० अर्ब १३ करोड ५३ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३१ अर्ब ४६ करोड ५१ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा १.०८ प्रतिशत रहेकोमा अहिले बढेर १.८२ प्रतिशत पुगेको छ । प्रति सेयर आम्दानी १४ रुपैयाँ ६१ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १५६ रुपैयाँ ३५ पैसा रहेको छ ।