वाणिज्य बैंकमा ७८ पटक बैठक बस्दा पनि भएन जोखिम व्यवस्थापन र व्यवसायिक रणनीति कार्यान्वयन



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ७८ पटक सञ्चालक समितिको बैठक बस्दा समेत जोखिम व्यवस्थापन र व्यवसायिक रणनीति कार्यान्वयन नगरेको पाइएको छ ।

महालेखापरीक्षकको ६०औं प्रतिवेदनमा उक्त कुरा उठाइएको छ । बैंक सञ्चालक समितिको वार्षिक बैठक ७८ पटक बसेको भएपनि जोखिम व्यवस्थापन र व्यवसायिक रणनीतिलाई आवश्यकता अनुसार महत्व नदिएको र बैंकको बैकिङ्ग कार्य सम्पादनसँग सम्बन्धित सबै कार्यक्षेत्रहरू समेट्ने गरी एकीकृत सञ्चालन कार्यविधि तय गरी कार्य सञ्चालन नगरेको उल्लेख छ ।

उक्त विषयहरू समेटी जोखिम व्यवस्थापन नीति र कार्यविधि अद्यावधिक गरी कार्य सम्पादनमा प्रभावकारीता ल्याउन महालेखाले निर्देशन दिएको छ ।

यस्तै सुशासन तथा जोखिम व्यवस्थापन बैंकमा जोखिम व्यवस्थापन गरी कार्य सञ्चालन गर्न एक समिति गठन गरेको उल्लेख छ । ऋण, बजार सञ्चालन जोखिमको समीक्षा र व्यवस्थापन गर्न विभिन्न नीति, कार्यविधि, प्रणाली र तालिम सञ्चालनमा ल्याएपनि तनाव परीक्षण र तरलता जस्ता प्रतिवेदनको मानक र नियमित प्रकृतिको कार्यमा मात्र गठित समितिले काम गरेको छ ।

गठित समिति मातहतको जोखिम व्यवस्थापन विभाग कुनै पनि कर्जा स्वीकृति वा नविकरणमा संलग्न हुन नहुनेमा ७ करोड भन्दा बढीको ऋण स्वीकृत र नविकरणमा समेत सहभागी भएको पाइयो प्रतिवेदनमा उल्लेख छ । जोखिम व्यवस्थापन समितिले जोखिम व्यवस्थापन कार्य र रणनीतिमा लेखापरीक्षण प्रतिवेदन ( आन्तरिक, बाह्य वा नियामक निरीक्षण) लाई ध्यानमा राखी जोखिम समीक्षा नगरेको देखिएको छ ।


क्लिकमान्डु