जापानका युट्युबर सांसद निष्कासित
एजेन्सी । जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्कासन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थित नभएका उनलाई मंगलबार संसद्बाटै निष्कासन गरिएको हो ।
गत जुलाईमा निर्वाचित योसिकाजु हिगासितानी अनिवार्य उपस्थित हुनुपर्ने संसदीय बैठक एवं अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि जापानको माथिल्लो सदनले मंगलबार निष्कासन गरेको हो । सदनको हिजोको उक्त निर्णय आजदेखि लागू भएको छ ।
गासी उपनामले चिनिने योसिकाजु ७० वर्षपछि जापानको संसद्बाट निष्कासित हुने पहिलो सांसद भएका छन् । यसअघि सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमायाचना गर्न आदेश दिएको थियो तर उनले त्यसको बेवास्ता गरेका थिए । एकाउन्न वर्षीय उनको दलबाट दुई जना सांसद निर्वाचित छन् । उनी निष्कासित भए पनि अर्को एक सदस्यले उनको स्थानमा काम गर्नेछन् ।
दुबईमा बसोबास गरिरहेको पूर्वव्यापारी उनले जापान फर्केमा पक्राउ पर्ने बताएका छन् । मानहानीको आरोपमा उनलाई सम्बद्ध अधिकारीले सोधपुछ गर्न पक्राउ गर्नसक्ने उनले बताएका छन् । जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उनको दल एनएचके पार्टीका रूपमा परिचिति थियो ।