महँगी ७.८८ प्रतिशतले बढ्यो
काठमाडौं । चालू आर्थिक वर्षको माघ महिनामा देशको समग्र महंगी ७.८८ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिकाअनुसार चालू आर्थिक वर्षको माघ महिनामा महंगी ७.८८ प्रतिशत पुगेको हो ।
गत वर्ष माघमा मुद्रास्फीति ६.२४ प्रतिशत थियो । चालु आवमा भने यो बढेर ७.८८ रहेको छ ।
त्यस्तै, माघमा खाद्य तथा पेय पदार्थमा ६.१९ प्रतिशत र गैर–खाद्य वस्तुको महंगी ९.२२ प्रतिशत पुगेको छ । खाद्य तथा पेय पदार्थहरुमा रेष्टुरेन्ट तथा होटलमा महंगी १५.२४ प्रतिशत, खाद्य तथा खाद्य जन्य पदार्थमा १२.३९ प्रतिशत, सूर्तीजन्य पदार्थमा १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ७.७८ प्रतिशत र मरमसलामा ८.०४ प्रतिशत बढेको हो ।
गैर खाद्य तथा सेवा समूहअन्तर्गतका यातायातमा १५.५८ प्रतिशत, स्वास्थ्यमा १०.३९ प्रतिशत, घरायसी उपभोग्य वस्तुहरुमा ९.७८ प्रतिशत, फर्किसिङ्ग र घरायसी उपकरणहरुमा ९ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिमा .१ प्रतिशतले महंगी बढेको राष्ट्र बैंकको विवरणले जनाएको छ ।
समग्र देशको महंगीमध्ये काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत महंगी रहेको छ । गत वर्ष माघमा यी क्षेत्रहरुमा क्रमशः ५.४७, ६.५०, ६.७१ र ५.९७ प्रतिशत महंगी रहेको थियो ।