सिलिकन भ्याली किनेर डिजिटल बैंक बनाउन मस्कलाई सुझाव, मस्कले भने: म विचारका लागि खुला छु



एजेन्सी । अमेरिकाकै शीर्ष वित्तिय संस्थामध्येको एक सिलिकन भ्याली बैंक बन्द भएपश्चात् विश्वका सबैभन्दा धनी मध्येका एक अर्बपति तथा ट्विटरका मालिक एलन मस्कलाई उक्त बैंक किन्न सुझाव आएको छ ।

सामाजिक सञ्जालमा ट्विटरमा बैंक बन्द भएको जानकारी सार्वजनिक भएसँगै धेरैले मस्कलाई उक्त बैंक किनर डिजिटल बनाउन सुझाव दिएका छन् । मस्कले पनि यसबारेमा आफू विचार गर्न खुला रहेको बताएका छन् ।

अमेरिकाको क्यालिफोनिर्यास्थित बैंकिङ नियामकले बैंकको सेयरमा ६६ प्रतिशतसम्मको गिरावट आएपछि यसको कारोबारमा रोक लगाउँदै बैंकलाई बन्द गरेको हो ।

सिलिकन भ्याल्ली बैंक बन्द भएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मन्दीको चर्चा चलिरहेको छ । यसबीच सिंगापुरमा आधारित गेमिङ कम्पनीका मालिक तथा सीईओ मिन लियांग टेनले ट्विटरमा मस्कलाई उक्त बैंक खरिदका लागि सुझाव दिएका छन् । उनले ट्विटरमा लेखेका छन, ‘मलाई लाग्छ, ट्विटरले सिलिकन भ्याली बैंकलाई किनेर त्यसलाई डिजिटल बैंक बनाउनु पर्छ ।’

लेनको उक्त सुझावलाई आत्मसात गर्दै मस्कले जवाफमा लेखेका छन्, ‘म विचारका लागि खुला छु ।’

मस्कले धेरै समयअघि बाट नै डिजिटल बैंकको विषयलाई बहसमा ल्याइरहेका छन् । हाल सिलिकन भ्याली बैंक बन्द भएपछि उनलाई दिइएको यो सुझावलाई लिएर पनि उनले यसका लागि आफू तयार भएको बताएका छन् ।

अमेरिकी फेड रिजर्वले बढ्दो महंगीलाई नियन्त्रणमा राख्नका लागि निरन्तर बढाइरहेको ब्याजदरका कारण सिलिकन भ्याली बैंकको पैसा कर्जामा लिएका कम्पनीहरुले समयमा पैसा फिर्ता नगर्दा उक्त बैंक संकटमा गएको थियो ।

अमेरिकी बन्डको मूल्यमा गिरावट आउँदा बैंकको सेयरमा ६६ प्रतिशतसम्म गिरावट आएका कारण उक्त बैंक बन्द भएको छ ।


क्लिकमान्डु