महेश बस्नेतलाई भेट्न गुण्डु पुगे बालेन, के भयो कुराकानी ?



भक्तपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नेकपा एमालेका नेता महेश बस्नेतलाई भेट्न उनको निवास पुगेका छन् ।

महानगर प्रमुख बालेनविरुद्ध कडा अभिव्यक्ति दिएको भन्दै आलोचना खेपेका नेता बस्नेतलाई भेट्न शाह सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्ड स्थित बस्नेत निवास पुगेका थिए ।

निर्वाचनको समयमा राजनीतिक प्रतिष्पर्धा भएता पनि विकास र समृद्धिको विषयमा एक ढिक्का भएर अगाडि बढ्ने प्रतिवद्धता बस्नेत र शाहको छ ।

नेता बस्नेत र मेयर शाहबीचको भेटवार्तामा काठमाडौँ र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवैले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल भएको छ ।

भक्तपुरको विकास मुलुककै लागि उदाहरणीय भएकाले त्यसलाई अनुकरण गर्ने विषयमा छलफल केन्द्रीत भएको बस्नेतले बताए । मेयर शाहले केही स्थानको विकास तथा पुनःनिर्माण गरिएको अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन गरेका थिए ।

बस्नेत र शाहबीच वर्तमान राष्ट्रिय राजनीतिका साथसाथै मनोहरा करिडोर निर्माण र त्यहाँका समस्या, मनोहरा नदीको बहाव परिवर्तन र त्यसको समाधान, सकुम्बासी बस्तीको समस्या समाधानको उपाय,कोटेश्वर चोकमा आकाशे पुल निर्माण लगायतका विषयमा छलफल भएको थियो ।

त्यस्तै भेटवार्तामा वर्तमान राष्ट्रिय राजनीति र त्यसको प्रभाव प्रत्यक्ष रुपमा विकास निर्माणमा पर्ने भएकाले कांग्रेस र एमालेको नेतृत्वमा सरकार गठन भएमा राजनीतिक स्थिरता हुने भन्दै मेयर शाहले नेता बस्नेतलाई आगामी दिनमा एमालेको भूमिका र कांग्रेस एमालेबीचको सहकार्यको बारेमा चासो राखेका थिए ।

‘निर्वाचनको जनमत र देशको आवश्यकताको लागि एमाले कांग्रेसको सहकार्य देखियो । यो सम्भावना छ कि छैन ?’शाहको प्रश्न थियो । जवाफमा नेता बस्नेतले तत्कालै त्यस्तै अवस्था नरहे पनि आवश्यकताको महशुस भने भएको बताए ।

मनोहरा नदीको बहाव परिवर्तन भई नदी भक्तपुर पट्टीबाट बगिरहेको मेयर शाहलाई जनाकारी गराउँदै नेता बस्नेतले प्रशासनको सहकार्यमा उक्त समस्या समाधान गरी करिडोर निर्माण भएको बताए ।

मनोहरामा भक्तपुर साइडमा १५ घर सुकुम्वासीलाई क्षतीपूर्ति दिन नपाएका कारण करिडोर निर्माण प्रकृयाले पूर्णता पाउन नसकेको उल्लेख गर्दै नेता बस्नेतले विगतमा काठमाडौँ महानगरपालिका र आयोजनाबीच भएको सम्झौता कार्यान्वयन गरी करिडोर निर्माणलाई सम्पन्न गराउनुपर्नेमा जोड दिए ।

जवाफमा मेयर शाहले अघिल्लो कार्यकालका मेयरले उक्त सम्झौता गरेको आफूलाई जानकारी रहेको उल्लेख गर्दै उक्त सम्झौतालाई कार्यान्वयन गर्न आफू तयार रहेको स्पष्ट पारे ।

सुकुम्वासीको समस्या समाधान कानुन संवत् ढंगले हुनुपर्नेमा दुवै जनाको जोड थियो । बागमती, नयाँवसपार्क, थापाथली तथा मनोहराका सुकुम्वासीलाई कसैलाई काखा, कसैलाई पाखा नगरी समान ढंगले व्यवस्थापन गर्नेपर्ने उल्लेख गर्दै मयेर शाहले नेता बस्नेतको पहलकदमीमा सहकार्य गर्न तयार रहेको बताए ।


क्लिकमान्डु