करिब साढे ६ लाख नगदसहित ३८ जना जुवाडे पक्राउ



काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा जुवातास खेलिरहेका ३८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा टेकु बस्ने ४२ वर्षीया दिलमाया देउलासमेत २३ जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई ५ लाख ३८ हजार २ सय रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको जनाएको छ ।

यसैगरी, काठमाडौं, महानगरपालिका–९ शम्भुमार्ग बस्ने जमुना पौडेलको घरको अण्डर ग्राउण्डमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ गर्नेमा काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका–७ मित्रपार्क बस्ने ३६ वर्षीय जित नारायण श्रेष्ठसमेत ६ जना रहेका छन् ।
प्रहरी वृत्त गौशालाबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस्तै चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने ५८ वर्षीय पूर्ण महर्जनको घरमा तास खेलिरहेको अवस्थामा महर्जन समेत ९ जनालाई प्रहरीले मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय १० रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्लिकमान्डु