रुकुम पूर्वमा टर्कीबाट ल्याइयो १६ हजार ओखरको बिरुवा



रुकुम पूर्व । रुकुम पूर्वमा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् । डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार थान फरनर जातको दाँते ओखरका बिरुवा ल्याएको हो ।

ओखरका बिरुवा माग गर्दै परेको आवेदनमाथि हेरफेर गरेर १ सय ३८ किसानलाई बिरुवा वितरण गरिएको छ । प्रत्येक किसानले न्यूनतम १० देखि ६६ बोटसम्म ओखरको बिरुवा लिएका छन् ।

सिस्ने गाउँपालिकामा ७० घरधुरीलाई ८ हजार ३ सय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीलाई ६ हजार ५ सय ४५ र पुथा उत्तरगंगा गाउँपालिकामा २८ घरधुरीलाई २ हजार ६ सय १४ बोट दाँते ओखरको बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

मंगलबार सिस्ने गाउँपालिकाको रुमाल बारामा लुम्बिनी प्रदेशका वनमन्त्री दुर्गाप्रसाद चौधरी, भूमे गाउँपालिका झुङ्लाबाङमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ र पुथा उत्तरगंगा गाउँपालिकाको पिपलतुङमा प्रदेश सांसद सुरुल पुन, दिलकुमारी बुढा र सरिता पुनले एकैसाथ ओखरको बिरुवा रोपेर उद्घाटन गर्ने कार्यक्रम छ ।

गत वर्ष पनि वन कार्यालयले फरनर जातकै १० हजार ओखरको बिरुवा किसानलाई वितरण गरेकामा २५ हेक्टर जमिनमा ती बिरुवा लगाइएको थियो । यसै वर्ष पनि उक्त कार्यालयले जुम्लाबाट हाड्ले जातको १ हजार ७ सय दाँते ओखरको बिरुवा ल्याएर वितरण गरेको थियो ।

हाडे ओखर प्रशस्त पाइने रुकुम पूर्वमा दाँते ओखरबाट राम्रो आयआर्जनको सम्भावना भए पनि लगाइएका बिरुवा हुर्काउन भने चुनौती छ । सिँचाइ सुविधा नभएको र किसानसँग आवश्यक ज्ञान नहुँदा पनि ओखर खेतीबाट सफलता हात पार्न सकिँदैन कि भन्ने चिन्तामा किसान छन् ।

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुकुम पूर्व, रोल्पा कार्यालयले पनि जिल्लाका विभिन्न ठाउँमा दाँते ओखरको बिरुवा वितरण गर्दै आएको छ ।


क्लिकमान्डु