साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले २ वर्षदेखि साउदीको जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिवद्धता जनाएका छन् ।
सो क्रममा प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्कालन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराए ।
‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो’ उनले भने ‘वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ।’
धनकुटा जिल्लाको चौबिसे गाउँपालिका–४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा रहेका छन् ।