राष्ट्रपतिको लागि शक्ति राष्ट्रहरुले प्रत्यक्ष भूमिका खेलेः चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा यसअघि अप्रत्यक्ष भूमिका खेले पनि यसपटक प्रत्यक्ष भूमिका खेलेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद केसीले शक्ति राष्ट्रहरुले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको दाबी गरेका हुन् ।

यसले नेपालको स्वाभिमान, राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको उनको भनाइ छ । सांसद केसीले नेपाली सरकार प्रमुखहरु विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोज्याउने काम गरिरहेको दाबी गरे ।

‘राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चाको विषय छ । त्यस सम्बन्धमा शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रुपले हुने गर्दथ्यो, अहिले त प्रत्यक्ष रुपले नै आफ्नो देशको अनुकुल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ, यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको छ’ उनले भने ।

भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरुदेखि मन्त्रीहरु र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए ।

उनले भुगोलको हिसावले राष्ट्र सानो, ठूलो भए पनि सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसावले राष्ट्र सानो, ठूलो नहुने बताए ।

‘एक दुई दिन पहिलो छिमेकी राष्ट्र भारतबाट परराष्ट्र सचिवको नेपाल आगमन भयो । एउटा कर्मचारी । उहाँले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, लगायत विभिन्न मानिसहरुको बीचमा भेटघाटको अभियान चलाउनु भयो’ केसीले भने, ‘ राष्ट्र सानो ठूलो हुनसक्छ । निश्चय पनि नेपालको तुलनामा भारतको भुगोल, जनसंख्या, आर्थिक दृष्टिकोणले ठूलो छ । तर सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसावले राष्ट्र सानो, ठूलो हुँदैन ।’


क्लिकमान्डु