चिकित्सकहरुको आन्दोलनका कार्यक्रम स्थगित



काठमाडौं । चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग ६ बुँदे सहमति गरेसँगै चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ ।

माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको बिरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो ।

चिकित्सकहरु आन्दोलनमा उत्रिएसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो ।

२७ गते ट्रमा सेन्टर र वीर अस्पताल अगाडि विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन गर्ने क्रममा भएको घटनाका बारेमा छलफल भएको थियो ।

सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।

वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।


क्लिकमान्डु