निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको बाँधदेखि प्रसारण लाइनसम्म काम तीव्र


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड (टिएचएल) प्रवर्द्धक रहेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७५.५ प्रतिशत पुगेको छ ।

सेती नदीमा निर्माणाधीन राष्ट्रिय गौरवको यस आयोजना नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण तथा एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको हो ।

आयोजनाअन्तर्गत बाँध तथा हेडवर्क्स निर्माण (प्याकेज–१) को प्रगति ५९ प्रतिशत पुगेको छ । सोङदा–कालिका जेभीले निर्माण गरिरहेको १४० मिटर अग्लो मुख्य बाँधमा सेती नदीलाई डाइभर्सन सुरुङमार्फत पथान्तरण गरेपछि २०८१ चैत ७ गतेदेखि मुख्य बाँधको कंक्रिटिङ सुरु गरिएको थियो । हाल दायाँ र बायाँ किनारमा ग्राउटिङ ग्यालरी सुरुङ निर्माण, ड्रिलिङ तथा कंक्रिटिङ कार्य तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ ।

विद्युतगृह तथा उपकरण जडान (प्याकेज–२) अन्तर्गत समग्र प्रगति ७७ प्रतिशत पुगेको छ । चीनको सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको यस प्याकेजमा भूमिगत संरचनाको उत्खनन शतप्रतिशत सम्पन्न भइसकेको छ भने विद्युतगृह, सर्ज ट्याङ्क, केवल सुरुङ र टेलरेसलगायत संरचनाको कंक्रिटिङ कार्य पनि सकिएको छ । हाल टर्बाइन, जेनेरेटर, मुख्य इन्लेट भल्भलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको छ । २१३.३ मिटर लामो पेनस्टक पाइपमध्ये २११.३ मिटर जडान सम्पन्न भई रङरोगन तथा परीक्षण भइरहेको छ ।

त्यसैगरी, भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले निर्माण गरिरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइन (प्याकेज–३) को प्रगति ७८ प्रतिशत पुगेको छ । ३३ किलोमिटर लामो प्रसारण लाइनका लागि निर्माण गरिने ९४ वटा टावरमध्ये ७९ वटाको जग निर्माण र ६९ वटा टावर खडा गर्ने काम सम्पन्न भइसकेको छ । चितवनतर्फको रुख छपान कार्य सम्पन्न भई प्रतिवेदन बागमती प्रदेश वन निर्देशनालयमा बुझाइएको छ भने तनहुँतर्फको काम जारी छ ।

यसबीच, एडीबी र जाइकाका प्रतिनिधिमण्डलले हालै आयोजनास्थलको निरीक्षण गरी निर्माण प्रगति तथा सामाजिक एवं वातावरणीय सुरक्षणका पक्षको समीक्षा गरेका छन् ।

आयोजना प्रभावित व्यास नगरपालिकाका बेतेनी, झापुटार, होक्सेटार र बेलवास क्षेत्रका स्थानीयसँग नियमित परामर्श बैठक सञ्चालन भइरहेको छ । स्थानीयले उठाएका ध्वनि तथा धुलो प्रदूषण न्यूनीकरण, मनसुनअघि नदी किनार संरक्षणका लागि ग्याविन संरचना निर्माण तथा आपत्कालीन सूचना प्रणालीका लागि साइरन जडानलाई प्राथमिकतामा राखेर काम भइरहेको आयोजनाले जनाएको छ ।

जैविक विविधता संरक्षणका लागि आयोजना क्षेत्रमा मत्स्य ह्याचरी सञ्चालनमा ल्याइएको छ भने मादी नदी क्षेत्रमा ‘नो नेट लस’ सिद्धान्तअनुसार ‘मादी अफसेट योजना’ परिमार्जन गर्ने सहमति भएको छ ।

आयोजना प्रभावित क्षेत्रमा उपभोक्ता समितिमार्फत हालसम्म ९६ वटा सामुदायिक विकास आयोजना सम्पन्न भइसकेका छन् । ट्रस पुल, झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति तथा विद्यालय भवन निर्माणसहित सात वटा योजना कार्यान्वयनको चरणमा छन् ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका–८ पल्ट्याङका मगर समुदायका महिलालाई बेमौसमी तरकारी खेती, वित्तीय साक्षरता तालिम, कृषि सामग्री तथा हाते ट्र्याक्टर वितरण गरिएको छ ।

त्यसैगरी, मध्यवर्ती क्षेत्रभित्रको जग्गा अधिग्रहण तथा मुआब्जा वितरण प्रक्रियालाई पारदर्शी बनाउन मुआब्जा निर्धारण समितिका पदाधिकारीलाई सुरक्षण नीति सम्बन्धी अभिमुखीकरण पनि सञ्चालन गरिएको छ ।

यसैबीच, तनहुँ हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको छ भने मुआब्जा निर्धारणका लागि प्रभावित क्षेत्रको स्थलगत अध्ययन र तथ्याङ्क सङ्कलन सम्पन्न भएको छ । आयोजनाको अन्वेषण सुरुङ पोर्टल निर्माण कार्य पनि सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ ।