सीएनआई कोसी एक्स्पोलाई ऐतिहासिक बनाउने तयारी, ४ सय बढी स्टल रहने



विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेशले कोसी एक्सपोलाई ऐतिहासिक बनाउने जनाएको छ । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मैदानमा एक्स्पोको तयारी भइरहेको छ ।

मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्सपो–२०७९ को उत्साहजनक प्रवद्र्धन गरेका छन् ।

विराटनगर महानगरपालिकासहित औद्योगिक करिडोरभित्रका बूढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले आफ्नो पालिकाका घरेलु तथा साना उद्यमी तथा महिला उद्यमीहरुको प्रोत्साहनका लागि एक्स्पोको प्रवद्र्धनमा सहयोग गरेका हुन् ।

आफ्नो उत्पादनको प्रवद्र्धन गर्न उचित अवसर नपाएका त्यस्ता उद्यमीहरुलाई एक्सपोमा स्टल राख्नका लागि पालिकाले निर्वाह गरेको भूमिका र सहयोग महत्वपूर्ण बनेको हो ।

स्थानीय पालिकाहरुले नै उद्यमीहरुको प्रोत्साहनका लागि उत्साहजनक गरेपछि उद्यमीहरुले एक्सपोमा आफ्ना उत्पादनहरुको प्रचार प्रसार र बजार निर्माणको अवसर पाउने भएका हुन् ।

पाँचवटा पालिकाबाट छनौट भएर आउने घरेलु तथा महिला उद्यमीहरुले कम्तिमा पाँचवटा र बढीमा १० वटासम्म स्टलहरु एक्स्पोमा निःशुल्करुपमा प्राप्त गर्ने जनाइएको छ । जसका कारण उनीहरुले आफ्नो उद्यमलाई बजारको पहुँचसम्म पु¥याउन सहज हुने भएको हो ।

परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले स्थानीय तहले उत्साहजनक रुपमा एक्सपोको प्रवद्र्धनका लागि सहभागिता जनाएको बताए । जसका कारण अत्यन्तै पछाडि रहेका साना, लघु तथा महिलाहरुले संचालन गरेका उद्यमलाई उपभोक्ताहरुमाझ चिनाउनका लागि अवसर प्राप्त भएको उनले बताए ।

अध्यक्ष घिमिरेले खुल्ला बजारमा साना उद्यमीहरुको समेत पहुँच हुनुपर्ने मान्यता अनुसार पाँचवटा स्थानीय तहमार्फत उनीहरुको सहभागीता सुनिश्चित भएको जानकारी दिए ।

‘पाँचवटा पालिकाले उत्साहजनक रुपमा एक्स्पोलाई प्रवद्र्धन गर्ने भएका छन्, यसलाई स्थानीयस्तरमा उद्यमशिलताको विकासमा ठूलो मद्दत पुगेको छ’ अध्यक्ष घिमिरेले भने ‘महिला उद्यमी, घरेलु उद्योगहरुले एक्स्पोमार्फत आफ्ना उत्पादनलाई बाहिर ल्याउन सहज भएको छ ।’

उनले एक्सपोलाई भव्यता प्रदान गर्न हरेक क्षेत्रबाट तयारीअघि बढिरहेको जानकारी दिए । यसअघि ३ सय ५० वटा स्टल रहने गरी तयारी अघि बढाइएपनि स्टलहरुको माग अत्याधिक भएका कारण एक्सपोमा कुल स्टलको संख्या ४ सय नाघिसकेको अध्यक्ष घिमिरेले दाबी गरे । एक्सपोलाई ऐतिहासिक बनाउनका लागि सवै क्षेत्रसँग समन्वय भइरहेको पनि बताए ।

एक्सपो अन्तर्राष्ट्रियस्तरको बनाउने गरी तयारी गरिएको एक्सपोका सहसंयोजक गिरिजा सारडाले बताइन् । उनले अधिकांश स्टलहरु बुकिङ भइसकेको पनि जानकारी दिइन् । एक्सपोमा स्वदेशी तथा विदेशी उत्पादन र वस्तुहरुको अवलोकन तथा खरिद गर्न सकिने छ । माघ २८ गतेसम्म १० दिन एक्स्पो लाग्नेछ ।

मुलुकको अर्थतन्त्र विषम अवस्थामा रहेको बेलामा आर्थिक गतिविधिलाई चलायमान बनाउन र उद्योग व्यवसायलाई बाचय राख्नका लागि एक्सपो महत्वपूर्ण हुने जनाइएको छ ।

सीएनआई प्रदेश १ ले स्थापनाकै पहिलो वर्षमा उत्साहजनक रुपमा एक्सपो आयोजना गर्ने गरी तयारी गरिएको उनले बताइन् । त्यसका लागि कुनैपनि कसर बाँकी नराख्ने पनि सहसंयोजक सारडाले जानकारी दिइन् ।

प्रदेश १ को ऐतिहासिक, राजनीतिक र आर्थिक शहर विराटनगरमा हुने एक्सपाले प्रदेश १ कै सर्वोच्च शिखर सगरमाथाबाट आर्थिक समृद्धिको सुरुवात गर्ने सन्देश प्रवाह गर्ने आयोजको दाबी छ ।

एक्स्पोमा प्रदर्शनी तथा बिक्रीका लागि राखिने वस्तु तथा सेवाहरुको प्रकृति अनुसार अलग–अलग पेभिलियन रहने जनाइएको छ । औद्योगिक उत्पादन, अटोमोबाइल, कृषि उत्पादनलगायतका हरेक वस्तुका लागि अलग पेभिलियन हुने एक्स्पोका संयोजक राजेन्द्र राठीले बताए ।

उनले उत्पादक र उपभोक्ताबीचको सम्बन्ध बनाइराख्नका लागि एक्स्पो उपयुक्त थलो बन्ने विश्वास व्यक्त गरेका हुन् । एक्सपोका माध्यमबाट प्रदेश १ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका नयाँ लगानीकर्ताहरु समेत आकर्षित हुने बताए ।

परिसंघले एक्स्पोलाई ऐतिहासिक बनाउन यसअघि नै विराटनगर र काठमाडौंबाट तयारी गरिरहेको जनाएको छ । अध्यक्ष घिमिरेसहितको टोलीले काठमाडौंमा समेत एक्सपोको प्रवद्र्धनका लागि सीएनआईका पदाधिकारीहरुसहितका सरोकारवाला निकायहरूबीच छलफल गरेको थियो ।

एक्सपोमा नेपालबाहेक भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत अन्य मुलुकहरुबाट विशेष उत्पादनहरुको प्रदर्शनी र विक्रीका लागि स्टलहरु रहने जनाइएको छ । त्यसका साथै हरेक दिन नयाँ नयाँ कलाकारहरुको सांगीतिक र साँस्कृतिक प्रस्तुतिसहितको विशेष कार्यक्रम आयोजना हुने सिएनआई प्रदेश १ ले जनाएको छ ।

‘सौर्यमण्डल’ देखाइने
सीएनआई कोसी एक्सपो २०७९ लाई रोचक र ज्ञानवद्र्धक बनाउने उद्देश्यका साथ सौर्यमण्डलको अनुभव दिलाउन ‘प्लानेटेरियम’ राखिने भएको छ । विभिन्न उमेर समूहका अवलोकनकर्ताहरुलाई लक्षित गर्दै सौर्यमण्डल अवलोकन गर्न पाइने व्यवस्था मिलाउन लागिएको एक्सपोकी सह–संयोजक गिरिजा सारडाले जानकारी दिइन् ।

सौर्यमण्डलबारे आवश्यक जानकारी दिन र अवलोकनकर्ताहरुलाई त्यसको अनुभव गराउन ‘प्लानेटेरियम’ अर्थात सौर्यमण्डलको कक्ष निर्माण गरिने उनले बताइन् ।

विशेष किसिमको क्षेत्रभित्र उक्त सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने छ । उनले अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावट र त्यसको चक्रबारे सवैले जानकारी पाउनसक्ने बताइन् ।

सानो उमेर समूहलाई १५ मिनेट र ठूलोलाई २५ मिनेटसम्मको समयमा सौर्यमण्डल अवलोकन गराइने छ । सीएनआईले विद्यालय र कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुको चौतर्फी बौद्धिक विकासका लागि हिसान र प्याब्सनसँगको सहकार्यमा सौर्यमण्डलको अवलोकनलाई प्राथमिकताका साथ एक्सपोमा समेटिएको जनाएको छ ।

नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुति दिने

एक्सपोमा नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुति दिने भएका छन् । गायक सविन राई तथा उनको फारोह ब्याण्ड र राजु लामाको मंगोलियन हर्ट ब्याण्डले दर्शकहरु तताउने भएका हुन् ।

सविन र राजुबाहेक पनि थप चर्चित कलाकारहरु एक्सपोमा प्रस्तुति दिनका अनुबन्धित भइसकेका छन् ।

एक्सपो आयोजक समितिका अनुसार हालसम्म एकदेव लिम्बु, नितेश जंग कु“वर र उनको ब्याण्ड, समिर श्रेष्ठ, आशिष गुभाजुको अकोष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ ब्याण्डको प्रस्तुति रहने निश्चित भइसकेको छ ।

एक्सपोलाई भव्य बनाउने उद्देश्यका साथ हरेक दिन चर्चित कलाकारहरुले स्टेजमा गीत संगीतका माध्यमबाट दर्शकहरुलाई मनोञ्जन प्रदान गर्ने सीएनआई प्रदेश १ का महानिर्देशक विजयहरि शर्माले बताए ।

मोरङ व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ मोरङ, विराट नर्सिङ कलेज, चिकित्सक संघ, हिसान, प्याब्सन, नेपाल नर्सिङ एशोसिएशन, अटोमोबाइल्स एसोसिएशन, इन्स्योर परियोजना, स्वीस कन्ट्याक्ट, एनवीक्यूएसलगायतका संघसंस्था तथा निकायहरुले एक्स्पो सफल बनाउनका लागि सहकार्य गरेका छन् ।


क्लिकमान्डु