सुलभ मूल्यमा चिनी उपलब्ध गराउन प्रधानमन्त्रीलाई उपभोक्ता मञ्चको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री समक्ष सर्वसाधारणलाई सुलभ मूल्यमा चिनी उपलब्ध हुने वातावरण बनाउन ध्यानाकर्षण गराएको छ ।
मञ्चले प्रधानमन्त्रीलाई पत्र लेख्दै बजारमा आम उपभोक्ताले तस्करहरुले ल्याएको अवैध चिनी १ सय १० रुपैयाँ प्रतिकेजीमा उपभोग गर्न बाध्य भएका कारण सुलभ मूल्यमा चिनी उपलब्ध हुने वातावरण मिलाउन ध्यानाकर्षण गराएको हो ।
नेपाली बजारमा आवश्यक चिनी उत्पादन हुन नसकेका कारण विदेशबाट चिनी आयात गरि आपूर्ति व्यवस्थापन मिलाउन सरकार बाध्य भइरहेको बेला यो वर्ष सरकारका दुई मन्त्रालय अर्थ र वाणिज्य तथा आपूर्ति मन्त्रालयबीचको समन्वयको अभावको कारण चिनीको सहज आपूर्ति व्यवस्थापन नभएको मञ्चले जनाएको छ ।
छिमेकी मुलुक भारतले समेत ५ महिनासम्म चिनी निर्यातमा बन्देज लगाएको र चालु आर्थिक वर्षमा आपूर्ति व्यवस्थापन गर्न नदिएका कारणले भारतको तुलनामा नेपालमा महंगो मूल्यमा चिनी खरिद गर्न जनताहरु बाध्य भएको मञ्चको पत्रमा उल्लेख छ ।
मञ्चकाअनुसार अहिले भारतमा ४० रुपैयाँ हाराहारीमा पाउने चिनी नेपाली उपभोग्ताले प्रति किलो ११० रुपैयाँ तिरेर खरिद गर्न बाध्य भइरहेका छन् । सँगै तस्बिरीमार्फत चिनी आयात भएर बजारको माग धानिँदा बजार मूल्य अस्वभाभिक रुपमा बढेको र राज्यले पाउने ठूलो परिणामको राजस्व पनि गुमिरहेको मञ्चले जनाएको छ ।
यी कारणहरुले गर्दा मञ्चले प्रधानमन्त्ती समक्ष ध्यानाकर्षण गराउँदै चिनीको मौज्दात नहुँदा आपूर्ति व्यवस्थामा ठूलो असर पर्न जाने भएकाले सुलभ मूल्यमा चिनी उपलब्ध हुने वातावरण मिलाउन र त्यसका लागि सार्वजनिक संस्थानहरुमार्फत चिनी आयातको व्यवस्था तत्काल गर्न भनेको छ ।