राष्ट्रपति सभामुख लगायतको चयन सहमतिको आधारमा गर्ने प्रचण्डको प्रतिवद्धता: कांग्रेस प्रवक्ता



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखको चयन दलीय सहमतिको आधारमा गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले दिलाएको बताएका छन् ।

प्रवक्ता महतले समग्र देश र संसदको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सो पदहरुको निर्वाचन पनि दलहरुबीचको साझा सहमतिमा हुने कुरामा प्रधानमन्त्रीले कांग्रेससँग प्रतिवद्धता गरेको बताए ।

उनले विगतमा राष्ट्रपति पदको दुरुपयोग हुने संकेतहरु देखिएको भन्दै त्यस्तो हुन नदिन पनि आफ्नो पार्टीले राष्ट्रपतिसहितका राज्यका माथिल्लो संस्थाहरुको नेतृत्व चयन दलहरुबीचको सहमतिमा नै हुनुपर्ने प्रस्ताव अघि सार्नुपरेको स्पष्ट पारे ।

प्रवक्ता महतले सरकार बनाएजस्तो गरेर अल्पमत, बहुमतको आधारमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयनको विषयलाई बनाउन नहुने बताए । सभामुख, उपसभामुख पद र राष्ट्रपति, उपराष्ट्रपति पद महत्वपूर्ण संवैधानिक पद भएकाले पार्टीहरुले साझा दृष्टिकोण बनाउन जरुरी रहेको उनको भनाइ छ ।

संवैधानिक पदहरु मन्त्री चयन गर्ने किसिमको नभएकाले प्रधानमन्त्रीले आफूले दिएको वचनवद्धता पूरा गर्नेमा कांग्रेस आशावादी रहेको उनले बताए ।

संवैधानिक पदहरुमा रहने व्यक्तिले पार्टीगत रुपमा नभइ समग्र देशको नै प्रतनिधित्व गर्ने भएकाले सबै पार्टीहरुले सोचेर निर्णयमा पुग्नुपर्ने उनको भनाइ छ ।

प्रवक्ता महतले दलहरुबीच राष्ट्रपति लगायतका संवैधानिक पदहरुमा सहमति नभए आफ्नो पार्टीले उम्मेदवारी दिने पनि स्पष्ट पारे । संविधानको रक्षा गर्नका लागि आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको भन्दै कांग्रेससँग विश्वासको मतको अपेक्षा गरेकाले संविधानको रक्षाका लागि समर्थन गरेको बताए ।

कांग्रेसले प्रधानमन्त्रीको समर्थन कुनै पद प्राप्तिका लागि नगरेको उनको दाबी थियो । कांग्रेसले सरकारको नेतृत्व गर्छु भन्नु कुनै हिसावले गलत नभएको पनि बताए ।

प्रवक्ता महतले एमाले अध्यक्ष केपी ओलीले संविधानमाथि फेरि पनि धावा बोल्ने ढंगका अभिव्यक्ति दिएपछि कांग्रेसले त्यसको रक्षाका लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने अवस्था आएको दाबी गरे ।


क्लिकमान्डु