कुन पार्टीबाट को को बन्दै छन् मन्त्री ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मंगलबार दिउँसो मन्त्रीहरुले पद तथा गोपनीयताको शपथको तयारी गरिएको छ ।

ज नेकपा (एमाले) बाट ४, माओवादी केन्द्रका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना मन्त्री बन्न लागेका हुन् ।

एमालेमा परराष्ट्र, स्वास्थ्यको टुंगो लागेको छ । परराष्ट्रमा राष्ट्रिय सभा सदस्य विमला पौडेल राई र स्वास्थ्यमा प्रतिनिधि सभा सदस्य पदम गिरीको टुंगो लागेको छ भने अन्य २ जनाको नाम टुंगो लाग्न बाँकी रहेको छ ।

माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराती र अमनलाल मोदी मन्त्री बन्ने भएका छन् । शर्मा सञ्चार तथा सूचना प्रविधि , किराती नागरिक उड्डयन तथा पर्यटन र मोदी सामान्य प्रशासन मन्त्री बन्ने छन् ।

त्यस्तै गठबन्धनको अर्को दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित तीन जना मन्त्री बन्ने भएका छन् । लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् भने ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्न छन् । अर्को एक जनाको भने टुंगो लागेको छैन ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा, विज्ञान तथा प्रविधि र श्रम मन्त्री पठाउँदै छ । रास्वपाले शिशिर खनाललाई शिक्षा मन्त्रालय र डोलप्रसाद अर्याल (डिपी) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पठाउने तयारी गरेको छ ।

यसअघि प्रचण्ड नेतृत्वमा सरकार बन्दा तीन जना उपप्रधानमन्त्रीले शपथ लिएका थिए ।

उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री, विष्णु पौडेल अर्थ मन्त्री र रवि लामिछाने गृह मन्त्री भएका थिए। सोही दिन ज्वालाकुमारी साह, दामोदर भण्डारी राजेन्द्रकुमार राई र अब्दुल खान मन्त्री बनेका थिए । तर उनीहरुको मन्त्रालय तोकिएको थिएन ।


क्लिकमान्डु