आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व २४ प्रतिशत कम



विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले ६ महिनामा लक्ष्यभन्दा साढे २४ प्रतिशत कम राजस्व संकलन गरेको छ ।
सो कार्यालयले ६ महिनामा ३ अर्ब ३९ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको हो । चालू आर्थिक वर्षमा सो कार्यालयको ६ महिनाको लक्ष्य ४ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने थियो ।

कार्यालयले गत आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्षको सोही अवधिकको ६ महिनामा ४० करोड रुपैयाँ कम राजस्व संकलन गरेको हो ।

देशको चरम आर्थिक अवस्था र बैंकिङ क्षेत्रमा देखा परेको तरलता अभावका बीच पनि सो कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) मा २४ प्रतिशतले वृद्धि गरेको छ ।

कार्यालयका प्रमुख डा.दिलबहादुर क्षेत्रीका अनुसार गत वर्षको ६ महिनामा भ्याट वापतको राजस्व ९६ करोड रुपैयाँ भएको थियो । चालू आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

अन्तःशुल्क भने गत आर्थिक वर्षको ६ महिनाभन्दा कम उठेको छ । गत आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १ अर्ब २८ करोड रुपैयाँ अन्तःशुल्क वापतको रकम संकलन भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा अन्तःशुल्क वापत ७५ करोड रुपैयाँमा मात्र राजस्व संकलन भएको छ ।

प्रमुख करअधिकृत डा.क्षेत्रीका अनुसार सबैभन्दा बढी अन्तःशुल्क मदिराजन्य उद्योगले तिर्ने गर्दछन् । यस बीचमा मदिराजन्य वस्तुको उत्पादन घटेको कारण सो वापत लाग्ने शुल्क पनि त्यही आधारमा घटेको हो ।

बजार अनुगमनलाई तीव्र र प्रभावकारी बनाएको कारण भ्याटतर्फको राजस्व संकलन बढेको हो । त्यस्तै चोडी पैठारीमा पनि कडा गरिएको छ । त्यही भएर भ्याट संकलनतर्फ बढोत्तरी भएको प्रमुख करअधिकृत डा.क्षेत्रीको दाबी छ ।


क्लिकमान्डु